प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिएफविरुद्ध रोमाञ्चक जित हाँसिल गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो ।
टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । गण्डकीका बलरहरुले आफ्नो होम ग्राउण्डमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपिएफलाई दवावमा राखेका थिए । एपिएफका कप्तान प्रदिप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो पारीमा २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलविडव्लु धरापमा परे । एलविडव्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे ।
गण्डकीका लागि म्यान अफ दि म्याचसमेत रहेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल, र कमल परियारले समान २–२ विकेट हात पार्दा दिनेश वुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए । अन्तिम ओभरको खेल चलिरहँदा लागतार दुई विकेट गुमाउँदै लरखराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए । जवाफी व्याटिङका लागि उत्रिएको गण्डकीले स्कोर वोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेभिलिएन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दिप जोराको हातबाट क्याच आउट हुन पुगे । त्यस्तै गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए भने अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे ।
पोखरा रंगशालामा दुई खेल सञ्चालन हुने छन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ र दोश्रो खेल नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गतेसम्म सञ्चालन हुनेछ ।
बागमती सेमीफाइनलमा
पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गरेको छ । बागमतीले आफ्नो दोश्रो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशलेलाई ९० रनले पराजित गरेको हो । रंगशालामा जारी प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल स्कोर खडा गरेको थियो ।
बागमतीका लागि रित गौतम र इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले । खेलमा इशान म्यान अफ दि म्याच घोषित भए । बागमतीका लागि रित र इशानले १४३ रनको साझेदारी गरे । रितले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनका योगदान दिंदा यस्तै इशानले चार चौका र छ छक्काकोे मद्धतले ३८ बलमा ७० रन बनाए । प्रतिश जिसी भने १२ रनमा नटआउट रहँदा टिम कप्तान समेत रहेका सन्दीप लामिछाने भने शुन्य रनमा पेभिलियन फर्किन पुगे । उनी दिनेश अधिकारीको बलमा बोल्ड भए । कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए ।
जवाफी व्याटिङ गरेको कर्णाली भने १७.३ ओभर खेल्दै ९९ रनमा अलआउट हुन पुग्यो । बागमतीका लागि ३.३ ओभरमा सन्दीप लामिछानेले ९ रन दिंदै ४ विकेट हात पार्दा कर्णाली धराशायी बन्यो । कर्णालीका कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रन बनाए । यस्तै अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । बागमतीका लागि दिपेश श्रेष्ठले २ विकेट लिन सफल भए । त्यसै गरि प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १–१ विकेट हात पारे ।