नवौँ राष्ट्रिय खेलकुद : सुरक्षा व्यवस्थामा कडाई

Share this post :

Facebook
Twitter
WhatsApp

आजदेखी सुरु हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुरक्षा व्यवस्था कडाई गरिएको छ । प्रतियोगिताको उद्घाटन अपराह्रन्न चार बजे उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नेछन् ।
चालिस वर्षपछि गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागिरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न पनि सुरक्षा व्यवस्था कडाई गरिएको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले बताए ।
सुरक्षाको लागि २ सय एपीएफ र ११ सय जना नेपाल प्रहरी खटिएका छन् । यस्तै, सादा पोसाकमा पनि फरक फरक टोली खटाइएको छ । सुरक्षा टोलीको नेतृत्व अधिकृतले गरेका छन् । खेलकुद सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइए अनुसार कार्यान्वयन गरेको डीआईजीले जानकारी दिए । उद्घाटनस्थलमा मात्रै ७ सय प्रहरी सुरक्षाको लागि खटाइएको छ । खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभुति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । असोज २८ देखी कार्तिक ३ सम्म हुने प्रतियोगितामा ३६ वटा विधामा खेल संचालन हुदै छन् । पोखराको रंगशाला लगायत कास्कीको विभिन्न स्थान र गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ लगायतका जिल्लामा पनि खेलकुद हुदैछ ।
सवै स्थानका खेलकुदलाई मध्यनजर गर्दै अधिकृतको कमाण्डमा सुरक्षाकर्मी खटाइएको डीआइजी जोशीले बताए । प्रतियोगितामा करिव आठ हजार खेलाडी, प्रशिक्षक र अफिसियिल गरी दश हजारको हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाई छ । सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशन समेत गरिएको प्रहरीले जनाएको छ । सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रंगशालाको प्रवेशद्धार, खेलाडी बास बसेको होटल लगायतका स्थलहरुमा विशेष उपकरण सहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजना अनुसार सुरक्षा प्रवन्ध मिलाइएको नवौँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजक समेत रहेका जोशीले बताए । ‘भीआइपी, भीभीआइपी, समारोहस्थल, निवास, भीआइपी र भीभीआइपीको बासास्थान, ट्राफिक जाम लगायतमा सुरक्षा व्यवस्था गरेका छौ’ उनले भने ।
प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रंगशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिहरुको सवारीमा सुरक्षा प्रवन्ध गर्नेछ । यस बाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तयारीमा रहने र थप मद्धत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ । आर्मी, राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीले सूचना संकलनको लागि पनि छुट्टै सुरक्षाकर्मी खटाएको छ । ‘संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरिएको छ’ जोशीले भने, ‘खेलस्थलको र रंगशालाको सुरक्षा, भिभिआइपी सवारी, ट्राफिक व्यवस्थापन लगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ ।’ राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ ।
नवौँको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशी सहित सशस्त्र प्रहरीको एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाको कर्नेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं सुरक्षा उपसमितिका सचिव लक्ष्मण योगीले सुरक्षाका लागि रंगशाला र अन्य खेलस्थलको प्रवेशद्धारमा सिसिटिभी जडान गरिएको बताए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट नीजि सुरक्षा गार्ड, स्वयमंसेवक पनि परिचालन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *