पोखरा शहरको आकर्षक दृश्य देखिने । शान्त र स्वच्छ वातावरण । डाँडामा रहेको रिर्सोटमा साहसीक खेलसंगै पोखराको पृष्ठभूमि देखिने गरी फोटो खिच्ने स्थानका कारण पोखरा महानगरपालिका–१८ मेथलाङमा रहेको टापु रिर्सोट यहाँ पुग्नेहरुको रोजाईमा पर्छ ।
पोखराको पस्याङबाट मेथलाङ डाँडामा पुग्न २ किलोमिटरको यात्रा गर्नुपर्छ । पक्की सडक गतवर्षमात्र यस स्थानमा जोडिएको हो । नजिकै डाँडामा पोखरा महानगरपालिका र प्रदेश सरकारले शहिद पार्क र पर्यटक आकर्षक गर्न लगानी गर्याे । यससंगै शहिद पार्क वरपर पर्यटन गन्तव्यका रुपमा होटल तथा रिर्सोट र रेष्टुरेन्टको क्षेत्रमा लगानी बढ्न थाल्यो । फलस्वरुप टापु रिर्सोट जस्ता पर्यटक आकर्षण गर्ने गन्तव्यमा लगानी बढ्न थालेको छ ।
यस्तै, सराङकोट क्षेत्र यहाँबाट विहानीको सूर्योदय मनोरम देखिन्छ भने, पोखरा शहरलाई पूर्णरुपमा स्पष्टसंग देख्न सकिन्छ । यस ठाउँमा पनि सरकार र नीजि क्षेत्रको पर्यटनमा लगानी भएको छ । मालेपाटन (बाग्लुङ बसपार्क)बाट सराङकोट जान जम्मा ४ किलोमिटरको यात्रा गर्नुपर्छ । डाँडामा पुगेपछि जोकोही पर्यटक पनि लालायित हुन्छन् । पर्वतको कुश्मा बजारपारी रहेको द क्लिप रिर्सोट पर्वन जाने पर्यटकको रोजाईमा पर्ने गरेको छ । होटल संचालककै समूहले बञ्जीजम्प, स्वीङ, पीङ, साइकलिङ, जीपलाइन लगायतका साहसीक खेल संचालन गरी पर्यटकलाई आकर्षण गर्ने गरेको छ । साहसीक खेलका कारण पनि यो रिर्सोट पर्वत पुग्ने पर्यटकको पहिलो रोजाईमा पर्ने गर्छ ।
होटल संघ पोखराको तथ्यांक अनुसार पोखरा शहर र आसपासमा मात्रै १२ सय वटा होटल संचालित छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड र ड्याम्साइडमा मात्र ७ सय २६ होटल रहेका छन् भने, ४ सय ७५ वटा पृथ्वीचोक, महेन्द्रपुल, मुस्ताङचोक, पामे, लेखनाथ लगायतका ठाउँमा रहेका छन् । पोखरा क्षेत्रमा तारे होटलको मापदण्डमा रहेका १६ वटा होटल संचालनमा छन् । यिनीहरुले अन्तराष्ट्रियस्तरको मापदण्ड पुरा गरि सेवासुविधा दिइरहेका छन् । दुई वटा पाँच तारे होटल रहेको पोखरामा फुलबारी होटल बन्द भएपछि एउटा ग्राण्ड होटलले मात्र पोखरामा पाँच तारे स्तरको सुविधा दिएको छ । पोखरामा ५ वटा चार तारे होटल संचालनमा छन् ।
यस्तै, तीन तारे, दुई तारे र एक तारे होटलबाट सेवा भइरहेको होटल संघले जनाएको छ । तारे होटलमा वर्गिकरण भएका होटलहरुले अन्तराष्ट्रिय मापदण्ड पुरा गरी मापदण्ड अनुसारको सेवा र सुविधा ग्राहकलाई दिदै आएको होटल संघ पोखराका अध्यक्ष लक्षमण सुवेदीले बताए । पोखराका १२ होटलबाट ४० हजार व्यक्तिले प्रत्यक्ष रोजगार पाएका छन् ।
गण्डकी प्रदेश पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको मसान्तसम्म ४ सय ६७ वटा मात्र होटल दर्ता छन् । प्रदेश अन्तगर्त पर्यटन कार्यालयमा होटल संचालन गर्नुपर्ने कानुनी प्रावधान छ । पर्यटन कार्यालयलाई घरेलु उद्योग कार्यालयमा गाभेपछि अहिले पर्यटन तथा उद्योग कार्यालय कायम छ ।
तथ्यांक पनि स्पष्ट नरहेकाे पर्यटन उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएकाे छ । पर्यटन कार्यालय गाभिदा फाइल पनि हस्तान्तरण भएका छन् ।कार्यालयका अनुसार निर्देशनालयमा कुनै पनि आर्थिक वर्षकाे तथ्यांक भेटाउन सकिँदैन । यसाे त, जिल्लागत तथ्यांक पनि भेटिदैनन् । होटल तथा रिर्सोटको तथ्यांक पनि खोज्न समस्या हुने निर्देशनालयले जनाएकाे छ ।
निर्देशनालयका अनुसार अव होटल, रिर्सोट तथा रेष्टुरेन्ट पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गर्नुपर्छ ।
पोखराको लेकसाइडमा संचालित होटल मझेरीका संचालक अर्जुन खनालले पोखराका विभिन्न प्रकारका होटल रहेको बताउदै भने, ‘पोखरा भन्दा यसै महंगो छ भन्ने बुझिन्छ तर, होइन् । लेकसाइड आएर बस्नेले पनि अन्यत्र बस्दाको जस्तै सस्तोमा बस्न पाउँछ ।’ उनले कोभिड महामारीका कारण पर्यटकको संख्या घटेकाले पनि व्यवसायीले सस्तोमै दिन बाध्य भएको बताए ।
पोखराका होटल कोभिड अगाडिको अवस्थामा जस्तो नरहेको उनको भनाई छ । खनालले पर्यटनमा पोखरा सस्तो गन्तव्य रहेको बताए । व्यवसायी माग धेरै कम हुदा सस्तोमा दिन बाध्य भएको व्यवसायीहरु बताउँछन् । २०७९ माघमा भएको यति एयरलाइसन्सको विमान दुर्घना, पोखरा-मुग्लिङ सडकखण्ड समस्याका कारण पर्यटकको संख्या घटेको संघका अध्यक्ष सुवेदीले बताए । उनका अनुसार विदेशी पर्यटकको धेरै कम आउने गरेका छन् ।
‘आन्तरिक पर्यटक हो आउने’ उनले थपे, ‘विमान दुर्घटना र सडक जोखिमको समस्याले आन्तरिक पर्यटक पनि घट्दै गएका छन् ।’ उनले कति पर्यटक पोखरा आए भन्ने आधिकारीक तथ्यांक पनि नभएको बताए । उनका अनुसार २०१९ मा नेपालमा १९ लाख ६० हजार पर्यटक आउदा पोखरामा मात्रै ४ लाख आएको तथ्यांक छ । उनका अनुसार गत आर्थिक वर्ष ८० हजार पर्यटक पदयात्रा गएका थिए । यतिबेला पोखरामा चाइनीज पर्यटक बढी छन् । अन्य देशका पर्यटक फाट्फुट मात्र आउने सुवेदी बताउँछन् । होटल व्यवसायीका लागि असार, साउन र भदौ महिना अफसिजनको समय हो ।
पोखराको तथ्यांकले पनि पछिल्लोसमय रिर्सोटको संख्या घट्दो रहेको उनको भनाई छ । मेला, महोत्सव, फेस्टीबल, ट्रेकिङ जाने पर्यटकले नै होटल चलहपलह हुने व्यवसायी बताउँछन् । ट्रेकिङ जादा आइपर्ने विपत् पनि अर्को समस्या हो । पोखराकी महिला व्यवसायी लक्की क्षेत्रीले प्राकृतिक विपद्का कारण पनि पोखराका होटलमा चहलपहल घटेको बताइन् । उनले हाेटल व्यवसायमा आर्थिक मण्डीकाे प्रत्यक्ष प्रभाव देखिएकाे बताएकी छन् ।