Thursday, १५ October २०२६
समाज

देवानगञ्ज घटनामा मृतक परिवारसँग सरकारको ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

देवानगञ्ज घटनामा मृतक परिवारसँग सरकारको ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग नेपाल सरकारले ६ बुँदे सहमति गरेको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मृतकद्वयप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, पीडित परिवारसँग भएको सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

सहमतिअनुसार मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै, प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, सम्बन्धित कानुनी तथा नीतिगत विषयमा आवश्यक अध्ययन गरिने तथा पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने सहमतिमा उल्लेख छ।

छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा कार्यान्वयन गरिने तथा मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वयसमेत गरिने गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले नेपाल सरकार सत्य, न्याय, कानुनी शासन तथा नागरिकको विश्वासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ।