नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा त्रिशूली नदीमा आएको भीषण बाढीपछि पुरिएको एउटै घरभित्र ठूलो संख्यामा शव फेला परेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा उक्त घरभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार घरभित्र धेरै शव फेला परे पनि सोमबार रातिसम्म यकिन संख्या खुल्न सकेको छैन। पानी परिरहेको र रात परिसकेकाले खोजी तथा शव गणना गर्न कठिन भएको उनले बताए।
‘बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। पानी परेको र राति पनि भइसकेका कारण शव कतिवटा छन् भन्ने यकिन भइसकेको छैन,’ एसपी रेग्मीले भने।
तर विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङले भने उक्त घरभित्र २२ वटा शव देखिएको बताएका छन्। उनका अनुसार सुरक्षाकर्मीको टोलीले सोमबार पाँच–छ वटा शव निकालिसकेको छ भने घरभित्र अझै ठूलो संख्यामा शव रहेको छ।
‘आज २२ जनाको शव एउटै घरमा फेला पर्यो। धेरै शवहरू चिन्न नसक्ने अवस्थामा छन्,’ तामाङले भने।
उनका अनुसार घरभित्रबाट अझै करिब १६ वटा शव निकाल्न बाँकी रहेको छ।
बाढीपछि घर पुरिएर जोखिमपूर्ण अवस्था बनेका कारण यसअघि पनि उक्त स्थानमा खोजी तथा उद्धारको प्रयास गरिएको थियो। तर प्रतिकूल मौसम र भौतिक अवस्थाका कारण खोजी प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन।
सोमबार थप सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेपछि घरभित्र ठूलो संख्यामा शव रहेको खुलेको हो।
प्रहरीका अनुसार मंगलबार बिहानदेखि पुनः खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइनेछ। घरभित्र रहेका शवको यकिन संख्या र पहिचान भने खोजी कार्य सम्पन्न भएपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।