
कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधी व्यवसायी गण्डकी प्रदेश द्धारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसारको औषधी वितरण गरेको छ ।
उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधी निशुल्क वितरण गरिने जानकारी दिए । अभियान मार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो ।
अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई भेटमार्फत गराइएको संयोजक राउतले बताए । अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।
प्रदेशका अति विपन्न नागरिकलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस र जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए । साथै, संक्रमितको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवा समेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिव समेत रहेका डा दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।