राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली बिकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस (Arnaud Cauchois)बीच शिष्टचार भेटघाट भएको छ ।
नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।
तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गरे । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीनवर्ष अगाडीबाट शुरु भएपनि हालसम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले संघीयता लागु भैसकेको तर, प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरु समायानुकुल अगाडि बढाउनुपर्नेमा जोड दिए । भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता गरे । उनले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिक पक्षको आधारमा आयोजना सञ्चालनको बिधी र प्रकृया निर्धारण हुने जानकारी गराए ।
