जिल्ला अस्पताल लमजुङमा आइतबारदेखी अक्सिजन पाइप लाइन संचालनमा आएको छ । शनिवार अक्सिजन पाइप लाइन जडानको कार्य सम्पन्न गरेपछि संचालनमा आएको गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बायोमेडिकल इन्जिनियर खोविन्दर सुनारले बताए । १५ वेडको लागि अक्सिजन पाइप लाइनको व्यवस्था गरिएको उनले जनाएका छन् ।
मन्त्रालयले अक्सिजन पाइप लाइन जडानको लागि सो अस्पताललाई चालु आर्थिक बर्षमा ७५ लाख रुपैया विनियोजन गरेको थियो । नवरपुरको मध्यविन्दु अस्पतालमा पनि यही हप्तादेखी अक्सिजन पाइप लाइनको सेवा संचालनमा आएको छ । गण्डकी प्रदेश सरकारले एघारवटै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गर्ने र तत्काल अक्सिजन पाइप लाइन जडान गर्ने कार्यक्रम तय गरेको थियो । अक्सिजन प्लाण्ट जडानको कार्यक्रम दुईबर्ष अघिको भएपनि कोभिडसंगै बढी ताकेता गरिएको मन्त्रालयले जनाएको छ । इन्जिनियर सुनारले पाइप जडानको लागि कुनै जिल्लामा खरिद प्रकृयाको समस्या र कत्तै विजुलीको समस्याका कारण ढिलाई भएको बताए ।
‘मुस्ताङको जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन जडान गर्न तीन महिना लाग्यो’ उनले भने, ‘अक्सिजन चलाउनको लागि थ्रिफेज लाइन चाहिन्छ । नर्मल लाइनले अक्सिजन चलाउन सकिदैन । मुस्ताङमा विजुलीकै समस्याका कारण ढिला भएको हो ।’ मुस्ताङमा यही हप्तादेखी १५ वेडको लागि अक्सिजन पाइप लाइन तयार भएको उनले बताए । मनाङ जिल्ला अस्पतालमा भने जडानकै प्रकृयामा छ । विजुलीकै समस्या भएका कारण जडान कार्य ढिला भएको सुनारले बताएका छन् । नेपाल इलेक्ट्रीक बोर्डसंग थ्रिफेज लाइनको लागि समन्वय भइरहेको बताउदै उनले भने, ‘मनाङ जिल्लामै थ्रिफेजको लाइन छैन । जिल्लामा लाइन ल्याउनै समस्या छ । अरु प्रकृया भइरहेको छ । लाइन आएसंगै पाइप लाइन संचालनमा ल्याउछौ ।’ यसैगरी, गोरखा जिल्ला अस्पतालमा पनि संचालनको तयारीमा छ । पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्न लागिएको बताउदै मन्त्रालयले ठेकेदारबाट हस्तान्तरण नभएकाले पाइप जडान नभएको बतायो ।
मन्त्रालयका स्वास्थ्य तथ्यांक सुपरीवेक्षक बुद्धिसागर अधिकारीले भने, ‘नयाँ भवनमा जडान गर्ने भनिएकाले पुरानो भवनमा जडान गरिएन । नयाँ भवन हस्तान्तरण हुने वित्तिकै सुरु गछौ ।’ उनले भवन निर्माण कार्य सम्पन्न भइसकेको बताएका छन् । मन्त्रालयका अनुसार पाइप लाइन खरिदको प्रकृयामा छ । म्याग्दीको वेनी अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल, पर्वत, स्याङ्जाको जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन जडान भइसकेको मन्त्रालयले जनाएको छ । धौलागिरी अस्पतालमा भने अक्सिजन प्लाण्टकै प्रकृया अगाडी बढाइएको मन्त्रालयले बताएको छ । तनहुँको जिल्ला अस्पतालमा भने जडान प्रकृयामै छ । यसको लागि टेण्डर भइसकेको छ । प्रदेशका एघारवटै जिल्ला अस्पताललाई अक्सिजन पाइप लाइन जडानको लागि प्रदेश सरकारले प्रति अस्पतालको लागि ७५ लाख रुपैया विनियोजन गरेको थियो । गतबर्ष रकम नलगेका तनहुँ, मुस्ताङ, मनाङ, लमजुङ जिल्लाले भने यसबर्ष लगेको इन्जिनियर सुनारले बताए । सरकारले आफ्नै मातहतमा रहने गरि स्थापना गरेको संक्रामण तथा सरुवा रोग अस्पतालमा पनि अक्सिजन पाइप लाइन जडानको लागि टेण्डर प्रकृयामा गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले अव छिट्टै संचालन गरिने बताए । ‘टेण्डर प्रकृया लामो हुने भएकाले समय लागेको हो’ उनले भने, ‘तयारी भइरहेको छ ।’ यो अस्पताललाई सरकारले एक करोड ३५ लाख रुपैया दिएको मन्त्रालयले जनाएको छ ।
संघीय सरकारको मातहतमा रहेपनि पश्चिमाञ्चल क्षेत्री अस्पताललाई गण्डकी सरकारले अक्सिजन पाइप लाइन जडानको लागि ६२ लाख रुपैया दिने निर्णय गरेको छ । अस्पतालका प्रमुख डा अर्जुन आचार्यका अनुसार टेण्डर प्रकृयामा नै छ । मातृशिशु अस्पतालमा पनि सरकारले अक्सिजन जडान प्रकृया अगाडी सारेको सुनारले बताएका छन् । ‘पाइप लाइन जडान भएपनि हामीले चाहेजस्तो क्वान्टीटी छैन’ सुनारले भने, ‘अहिले काम चलाउने हो । गण्डकीमा दुईवटा अक्सिजन उत्पादन ग्यास भएकाले अक्सिजनको समस्या त छैन तर, सिलिण्डरको समस्या छ । यी दुई कम्पनीले दैनिक एक हजार भन्दा बढी सिलिण्डर भर्न सक्छन् ।’ प्रत्येक वेडवेडमा अक्सिजन पाइप लाइन जडान गर्ने, अक्सिजन सकिए एकैपटक सकिने र एकैपटक जोड्न मिल्ने गरि बनाउने योजना रहेको उनले बताए । इण्डियाबाट सामान ल्याउनुपर्ने भएकाले पनि लकडाउनका कारण ल्याउन नसकिएको उनको भनाई छ । अहिले क्षेत्रीय अस्पताल, सरुवा रोग अस्पताल लगायतमा अक्सिजन मेनिफुलबाट (२ देखी ८ वा १० वटासम्म सिलिण्डरको पाइप जोडी एकैपटक अक्सिजन सप्लाई गर्ने प्रकृया) चलाउने गरिएको उनले बताएका छन् । कतिपय अस्पतालमा पुरानो मेसिन हटाइएको र नयाँ मेसिन जडान गरिएको छ । नयाँ मेसिनमा समस्या आएकाले पनि अक्सिजन जडानमा समस्या भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार मनिपाल, जिएमसी, चरक लगायतका पोखराका ठूला नीजि अस्पतालमा भने अक्सिजन प्लाण्ट नै राखिएको छ ।
