
स्वास्थ्य क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको गैरसरकारी संस्था आईपास नेपालले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । डव्लुएचओ गण्डकीमा कार्यरत डा राजिव लालचनको समन्वयमा आइतबार प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण समारोहमा बोल्दै डा शर्माले संकटको घडिमा साथ दिने आईपास नेपाललाई अभार व्यक्त गरे । उपलब्ध स्वास्थ्य सामाग्रीलाई प्रदेश अन्तर्गतका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि तत्काल वितरण गरिने उनको भनाई छ । कोभिड १९ को पहिलो लहरमा पनि आईपास नेपालले प्रदेश सरकारलाई विभिन्न चरणमा सहयोग गरेको आइपास नेपालकी थमकुमारी कुँवरले जानकारी दिइन् । अस्पताल, स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका समेत लाभान्वित भएको उनले बताएकी छन् । अन्य गैह्र सरकारी संघ संस्थाबाट पनि प्रदेश सरकारलाई सहयोग मिलेको र आश्वासन पनि रहीरहेको डा शर्माले बताएका छन् ।
कोभिड १९ को दोस्रो लहरको लागि प्रदेश सरकारलाई गुणस्तरीय पूर्ण पिपिई सेट ५० थान, सेनेटाईजर ८० बोतल, केएन ९५ मास्क २ सय थान, सर्जिकल मास्क ६ हजार उपलब्ध गराइएको र अर्को चरणमा प्रदेशस्थित स्वास्थ्य कार्यलय, अस्पताल, स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरि सहयोग गर्ने तयारी भईरहको आईपासकी गण्डकी संयोजक कुँवरले बताइन् । आईपास नेपालले यस प्रदेशमा सुरक्षित गर्भपतन सेवा तथा परिवार नियोजन सेवाका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्दै आएको छ ।