आन्तरिक आम्दानीको दायरा बढाउनतर्फ संसदीय समितिको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सरकारको आम्दानी भन्दा पनि चालुखर्च बढी रहेको भन्दै गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले आन्तरिक आम्दानीतर्फ दायरा बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय समितिको वैठकमा सांसदले आम्दानी भन्दा पनि प्रदेश सरकारको चालुखर्च बढी भएकाले संघीयतामाथी नै प्रश्न उठेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले प्रदेश सरकारको आफ्नै आम्दानी नभएको र संघीय सरकारको आम्दानीमा भर पर्नुपर्ने भएकाले प्रदेश सरकारले आफ्नो आम्दानीबारे अध्ययन गर्न निर्देशन दिए । प्रदेश सरकारले आफ्ना स्रोत केके हुन भन्ने पहिचान गरी कार्यान्वयनमा लैजान कोइरालाले मन्त्रालयको ध्यानाकर्षण गराए । समितिले गत आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था र चालु आवको बजेट कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल चलाएको थियो । वैठकमा अर्थमन्त्री रामजी बराल र मन्त्रालयका दुई उपसचिव सहभागी थिए । सांसद इन्द्रलाल सापकोटाले प्रदेश संरचनाको विरोध भइरहेको बेला सरकारले जनतामुखी बजेट नल्याएको आरोप लगाए ।
संघीयतामा संघ, स्थानीय र प्रदेश सरकारको कार्य क्षेत्रको विषयमा बहस आवश्यक रहेको बताउदै उनले भने, ‘प्रदेशको अधिकार के हो ? आम्दानी कसरी गर्ने ? स्रोत के के हुन ? कुन कुन क्षेत्रको राजस्व प्रदेश सरकारले उठाउने यस विषयमा छलफल आवश्यक छ । तीन तहकै सरकारको सहकार्य, सहअस्तित्व र समन्वय नहुदा“ बजेट कार्यान्वयनमा पनि समस्या भएको छ । अनि राजस्वमा पनि ।’ सरकारले ल्याएको बजेट टुक्रे रहेको भन्दै उनले झण्डै २ हजार शिर्षक नया“ थप गरिएको बताए । वडा तहमा ल्याउनुपर्ने साना खुद्रे योजना प्रदेश सरकारले ल्याएको भन्दै उनले विरोध गरेका थिए । ‘बरु वडामा चुनाव लड्न जानुस’ उनले भने, ‘साना योजना लैजान पाइन्छ र भोट सुरक्षित हुन्छ । यता, सासंसदको लोगो लगाएर वडाको काम गर्ने ?’ उनले बजेट छैन भन्दै सरकारले कार्यान्वयनको चरणमा रहेका ठूला र महत्वपूर्ण योजनामा बजेट कटौती गरिएको प्रति आपत्ति जनाए । प्रदेशप्रति जनताको बुझाई गलत रहेको बताउदै उनले थपे, ‘उपभोक्ता समितिको नाममा योजना दिने र समितिले ठेकेदारलाई योजना सुम्पिने गरेका छन् । पात्र भन्दा पनि यो प्रबृत्तिको विरोध हो ।’
राजस्व उठ्ने ठूलो क्षेत्र नदीनाला रहेको बताउदै सांसदले यसको अधिकार क्षेत्रबारे पनि तीन तहकै सरकारबीच छलफल र समन्वय हुनुपर्ने बताए । समितिमा चालुखर्च घटाउन र आम्दानी बढाउनतर्फ पहल गर्नुपर्ने सुझाव दिइएको थियो । मुलुकमा संघीयता कार्यान्वयन भएपनि २० बर्ष अघिकै व्यवस्था कायम रहेको भन्दै सांसदले विकासको मोडालिटि बदल्नुपर्ने बताएका थिए । सांसद दोबाटे विकले संघीयताको मर्मअनुसार बजेट समावेशी नभएको आरोप लगाए । संघीय अनुदानमा निर्भर जनता आवास कार्यक्रमलाई पनि फेरबदल गर्नुपर्ने सांसदको सुझाव थियो । सांसद मिनप्रसाद गुरुङले सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रम अनुसार बजेट नआएकाले बजेट कार्यान्वयनमा समस्या रहेको बताए । उनले पु“जीतग बजेट खर्च बढाउनतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको बजेट भौतिक पूर्वाधारमुखी रहेको सांसदको भनाई थियो ।सांसदले बजेट खर्च, आम्दानीको विषयमा उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री रामजी बरालले एकीकृत कार्यविधिलाई संशोधन गरी बजेट कार्यान्वयनमा जोड दिने बताए । सार्वजानिक खरिद ऐन बाधक बनेको बताउदै उनले भने, ‘बजेट न्युन छ । त्यसलाई कसरी खर्च गर्ने भन्ने क्षमता हामीले राखेका छैनौ ।’ उनले नया“ बनेको सरकारले बजेट ल्याउने समय पनि निकै कम भएकाले बढी साना योजना समेटिएको स्वीकार गरे । ‘हामीले आम्दानी बढाउन सकेका छैनौ’ उनले भने, ‘खर्च मात्रै बढी छ । हामीले गरेको खर्चको प्रगति के त ? समिक्षा गर्ने बेला भएको छ ।’ उनले संघीय सरकारको अनुदानले प्रदेशले खर्च मात्रै बढाउनु राम्रो नहुने बताए । विगतमा सडक, मोटरेबलपुल लगायतका योजनामा बजेट खर्च हुने तर, योजनाको काम सुचारु नहुने अवस्था रहेको उनले बताएका छन् । अर्थ मन्त्रालयका उपसचिव रमेश शर्माले प्रदेश सरकारले आम्दानी बढाउने स्रोत नै नभएको बताए । उनले प्रदेश सरकारले पर्यटन, मनोरन्जन, विज्ञापन, घरजग्गा रजिष्ट्रेशन र सवारी साधन कर गरी ५ वटा शिर्षकमा कर उठाउन पाउने बताए । ‘पर्यटन, विज्ञापन र मनोरन्जनमा कर संकलन शुन्य छ’ उनले भने, ‘ठूलो राजस्व भनेको दहत्तर र बहत्तर हो । पोखरा महानगरपालिका, व्यास नगरपालिका, देवचुली नगरपालिका लगायतमा बढी राजस्व उठ्छ । तर, उनीहरु राजस्व बुझाउनै मान्दैनन् । प्रदेश सरकारले राजस्व नबुझाएका स्थानीय तहको अनुदान रोक्ने भनेपनि रोक्काको लागि कानुनी व्यवस्था छैन् ।’ उनले पोखरा महानगरपालिकालाई लिखित रुपमा पत्र पठाउदा लिखित रुपमै राजस्व नबुझाउने जवाफ आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *