वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको ‘उद्यमशीलता, व्यवसाय प्रवद्धन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको समन्वयमा नगरपालिकाका कामलाई वडा तहसम्म लगिने भएको छ ।
नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता धेरै रहेको भन्दै नगरपालिकाका कार्यहरुलाई ईबिक मार्फत वडा तहसम्म सञ्चालन गर्दा प्रभावकारिता बढ्ने बताएका हुन् । उनीहरुले भने, ‘सबै शाखा तथा साझेदार संस्थासँगको सहकार्यमार्फत काम गर्दा लक्षित बर्गसम्म सहज हुन्छ ।’
वालिङका जनप्रतिनिधी, वालिङ नगरपालिकाका २२ वटै शाखा प्रमुखहरु र साझेदार संस्था बीचको संयुक्त छलफलमा एक अर्काका कार्यक्रम सहकार्यमा सञ्चालन गर्दा प्रभावकारिता बढ्ने निष्कर्ष निकालिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले युवा तथा बेरोजगारलाई उद्यमी बनाउने गरी नगरपालिकाको साझेदारमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी रहेको बताइन् । उनले भनिन, ‘स्थलगत प्रगती हेरेर थप प्रभावकारी बनाउनतर्फ सबै लागौं ।’ नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी कार्यक्रम लक्षित हुनुपर्नेमा उपप्रमुख कल्पना तिवारीको जोड छ । उनले ईबिकमार्फत उद्यमी बनाउन, व्यवसाय प्रवर्धन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नतिजामुखी कार्यक्रमले मात्रै नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राखे । लक्षित बर्गको पहिचान गरी सोही अनुसार योजना निमार्णमा नगरपालिकाको जोड रहने उनले बताए । नगरपालिकाका सबै शाखाहरुको समन्वयमा काम गर्दा नागरिकहरु सहजरुपमा लाभान्वित हुने उनले प्रष्ट पारे । ‘ईबिक शाखाको समन्वले सेवा प्रवाह गर्दा नागरिकलाई फाईदा हुन्छ’ उनले भने ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावितलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले धेरै नागरिकलाई सहजता भएको बताए । युवा तथा उद्यमीलाई लक्षित शुभारम्भ गरिएको ईबिक सेन्टरले धेरै बेरोजगारलाई बाटो देखाउने काम गरेको उनले बताए । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो ।
