लुइस स्वारेजले निर्णायक गोल गरेपछि एट्लेटिको म्याड्रिडले शनिबार निर्णायक खेलमा रियल भालाडोलिडलाई पराजित गर्दै स्पेनिस लिगको उपाधि जितेको छ । एक गोलले पछाडि परेको अवस्थामा एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गर्दै सिजनको अन्तिम खेलबाट स्पेनिस लिगको उपाधि उचालेको हो ।

अन्तिम खेलमा जित हात पारेमा मात्र एट्लेटिकोको उपाधि निश्चित हुने थियो । अन्यथा एट्लेटिकोको सहरी प्रमुख प्रतिद्वन्द्वी रियल म्याड्रिडले उपाधि जित्ने थियो । तर भालाडोलिडले आफ्नो मैदानमा मध्यान्तरसम्म एक गोलको अग्रता लिएर एट्लेटिकोलाई स्तब्ध पारेको थियो । रियलको पनि हालत यस्तै थियो, टोली घरेलु मैदानमा भिल्लारियलसँग मध्यान्तरसम्म एक गोलले नै पछाडि थियो ।
ओस्कार प्लानोको गोलमा भालाडोलिडले १८ औं मिनेटमा अग्रता लिएको थियो । एन्जल कोरिआले एकल प्रयासमा गरेको सानदार गोलबाट एट्लेटिकोले ५७ औं मिनेटमा खेल बराबरीमा ल्यायो । त्यसको १० मिनेटपछि स्वारेजले गरेको गोल निर्णायक बन्यो । २ सय किलोमिटर उता म्याड्रिडमा येरिमी पिनोले २० औं मिनेटमा भिल्लारियललाई अग्रता दिलाएका थिए ।
अन्तिम ५ मिनेट खेललाई नाटकीय बनाउँदै रियलले जित हात पार्दा करिम बेन्जेमाले ८७ र लुका मोड्रिजले ९२ औं मिनेटमा गोल गरे । त्यो पनि रियललाई उपाधि जोगाउन पर्याप्त भएन । ३८ खेलको समाप्तिमा एट्लेटिकोको ८६ र रियलको ८४ अंक रहयो । एट्लेटिकाले सन् २०१४ पछि पहिलो पटक स्पेनिस लिगको उपाधि जितेको हो ।
रियल र बार्सिलोनाको वर्चस्वमा डिएगो सिमोनीले आफ्नो एक दशक म्याड्रिड बसाइका क्रममा एट्लेटिकोलाई दोस्रो पटक लिग च्याम्पियन बनाएका हुन् । एट्लेटिको कुल ११ औं पटक लिग च्याम्पियन बनेको हो । डिसेम्बरदेखि नै एट्लेटिकोले लिगमा अग्रता बनाइरहेको थियो र त्यसलाई अन्तसम्मै कायम राख्यो । अक्टोबर १७ यता पहिलो पटक लिगको शीर्षस्थानमा पुग्ने रियलको आशामा स्वारेज तगारो बने । गत साता ओसासुनासँग रोकिन लागेको अवस्थामा ३४ वर्षे स्वारेजले नै एट्लेटिकोबाट विजयी गोल गरेका थिए । बार्सिलोनाबाट यसै सिजन आएका उनले ३२ खेलमा २१ गोल गरे । स्पेनमा ७ सिजन बिताइरहेका उनले व्यक्तिगत छैटौंपल्ट ला लिगाको उपाधि उचालेका हुन् ।
अघिल्लो खेलमा उपाधि दौडबाट बाहिरिइएको बार्सिलोनाले एन्टोइन ग्रिजम्यानको गोलमा एइबरलाई १–० ले हरायो । बार्सिलोना ७९ अंकसहित तेस्रो स्थानमा रह्यो । सेभियाले यसअघि नै चौथो स्थान सुरक्षित गरेको थियो । सातौं स्थानमा टुंग्याएको भिल्लारियलले म्यानचेस्टर युनाइटेडविरुद्ध हुने युरोपा लिगको फाइनलमा जित हात पारेमा च्याम्पियन्स लिगमा छनोट हुनेछ । एट्लेटिकोसँग पराजित भालाडोलिड रेलिगेसनमा परेको छ ।