कृषकलाई अनुदानमा ४९ हाते ट्रयाक्टर वितरण

Share this post :

Facebook
Twitter
WhatsApp

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।
परम्परागत तबरले कृषि प्रणाली अवलम्वन गर्दा उत्पादनभन्दा लागत धेरै लाग्ने र झण्झटिलो पनि हुने भएकाले कृषकहरुलाई आधुनिक प्रविधि तथा यान्त्रिकीकरणको प्रयोगमा जोड दिनका लागि हाते ट्रयाक्टर वितरण गरिएको उनको भनाई छ । ‘पछिल्लो समय खेतबारी जोत्नका लागि गोरु नपाईने र साना तथा गराहरुमा हाते ट्रयाक्टरहरु बढी उपयोगी हुने ठानेर हाते ट्रयाक्टर वितरण गरेका हौं’ उनले भनिन, ‘यसको सही सदुपयोग गर्न र गाउँघरमा आलोपालो ब्यवस्थित तरिकाले सञ्चालन गर्नमा सहयोग पुग्नेमा विश्वस्त छु ।’
गत आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाले सूचना निकालेको र सोही सूचनाका आधारमा आवेदन परेका कृषक समूहहरुको अनुगमनपछि छनोट गरी वितरण गरिएको कृषि अधिकृत सुभासचन्द्र अर्यालले बताए । नगरपालिकाले ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर ६० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर ६५ हजारमा खरिद गरिएको अर्यालले बताए ।
कृषकहरुको माग र आवश्यकताका आधारमा ट्रयाक्टर खरिद गरी वितरण गरिएको हो । कृषिमा आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बृद्धि गर्नुकासाथै छिटो, छरितो र सहजसमेत हुने भएकाले कृषकहरु पछिल्लो समय प्रविधितर्फ आकर्षित हुँदै गएकाले हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताए ।
किसानलाई ६ हर्ष पावरको प्रति हाते ट्रयाक्टर ३० हजार र ७ हर्ष पावरको प्रति हाते ट्रयाक्टर ३२ हजार ५०० मा उपलब्ध गराईएको हो । हाते ट्रयाक्टर वितरण पूर्व कृषकहरुलाई सञ्चालन गर्नेसम्बन्धी अभिमुखीकरण दिईएको थियो । एकहप्ता अगाडि पनि वडा नम्बर ९ ले वडाका ब्यवसायिक किसान, कृषक समूह तथा फर्महरुलाई ५० प्रतिशत अनुदानमा १७ थान हाते ट्रयाक्टर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *