गण्डकीका मुख्यमन्त्रीको २५ लाख ऋण

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको २५ लाख रुपैयाँ ऋण रहेको छ । सार्वजानिक पदमा नियुक्त भएको ६० दिनभित्र सम्पति विवरण खुलाउनुपर्ने कानुनी व्यवस्था छ । सम्पति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका मुख्यमन्त्रीले कृषि विकास वैंकबाट ०५६ मा ऋण लिएको र तलवबाट आएको ५ लाख नगद एभरेष्ट वैंकमा आम्दानी रहेको खुलाएका छन् ।
उनीसंग ५ तोला सुन रहेको छ भने श्रीमति लता पोखरेलको नाममा गैडाकोटमा २० लाखको एउटा घर छ । मुख्यमन्त्री पोखरेलको नाममा काठमाण्डौ र तनहुँमा जग्गा रहेको छ । यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसंग एक किलो १९ तोला सुन छ । १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एकथान हिराको औँठी रहेको मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । श्रोतमा उनले पैतृक तथा पेवा उल्लेख गरेका छन् । स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा उनको जग्गा रहेको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले गतवर्ष मात्रै एककरोड ऋण लिएको बताएका छन् । एनआईसी एसिया बैंकबाट ऋण लिएका उनले त्यसको कारण उल्लेख गरेका छैनन् ।
सवारी साधनको नाममा दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा स्कुटर रहेको बताउदै उनले ६० हजारको गाई रहेकोब ताएका छन् । निफ्राको ६० कित्ता सेयर, एभरेष्ट बैंकमा ३ लाख नगद मौज्दात उनले आम्दानी देखाएका छन् । बरालले ४ तोला सुन देखाएका छन् भने पोखरामा आफ्नो र श्रीमतीको नाममा जग्गा रहेको खुलाएका छन् । भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पोखरा महानगर–१६ मा घर रहेको र यो स्वआर्जन र पैतृक सम्पतिबाट निर्माण गरिएको बताएका छन् । ९५ तोल सुन, विभिन्न वित्तिय संस्थामा एक करोड बढी नगद, ५६ लाखको शेयर तथा ८५ लाख ऋण दिएको उनले सम्पति विवरणमा खुलाएका छन् । यसैगरी, उर्जामन्त्री हरिशरण आचार्यले ५० लाख ऋण लिएकोमा १० लाख तिरिसकेको जनाएका छन् । कृषि विकास र प्रभु वैंकबाट उनले ऋण लिएका हुन् । बैंकबाट लिएको ऋणबाट उनले २० लाखमा आमुल फर्निचर उद्योग पनि सञ्चालन गरेका छन् ।
गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको उनले खुलाएका छन् । आचार्यसंग ८ तोला सुन र ५ तोला चा“दी रहेको छ । वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् । पोखरा महानगर–१४ मा ४० लाखको जग्गा पनि उनको रहेको छ । त्यसको स्रोतमा तलब भत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स पनि उल्लेख गरिएको छ । थापासंग ३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्ति छ । विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण देखाएका उनले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएका छन् । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफ्नो नाममा पोखराका विभिन्न ६ ठाउ“मा घर, ८ ठाउँमा जग्गा रहेको जनाएका छन् । घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा रहेको छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद, परिवारका सवै सदस्यको नाममा ७ लाख ५० हजार कित्ता सेयर रहेको छ भने, दुईवटा गाडी, ५ वित्तीय संस्थामा ऋण तथा होटेल, ट्रेड हाउस, मल, रिसोर्ट लगायतमा लगानी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङको दूधपोखरीमा घर, लमजुङ, चितवन र हेटौँडामा ४ ठाउँमा जग्गा, ३ तोला सुन, ८ लाख ६० हजार नगद मौज्दात रहेको छ । पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको बागलुङको काठेखोलास्थित लेखानीमा ६ ठाउँमा जग्गा रहेको छ । उनको नाममा चितवनमा ५ ठाउँ, रुपन्देहीमा नौ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै ३ ठाउँमा जग्गा रहेको छ । मन्त्री कँडेलसंग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ । २५ तोला सुन तथा एक केजी चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा इन्द्रकलीको नाममा झन्डै दुई लाख रुपैयाँ नगद रहेको छ । झन्डै ८७ हजार कित्ता सेयर, दुई करोड ६७ लाख ऋण रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार भएको दुई महिनापछि गण्डकी प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार वेबसाइटमार्फत नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गण्डकीमा ११ मन्त्री छन् । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *