गण्डकीको नामाकरणमा पूर्वप्रधानमन्त्री भट्टराईको असन्तुष्टि

Share this post :

Facebook
Twitter
WhatsApp

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गण्डकी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएका छन् । प्रदेशसभाको सार्वभौम मतले प्रदेशलाई गण्डकी नामकरण गरिसकेको अवस्थामा भट्टराईले भने त्यसभन्दा विपरीत खालको टिप्पणी गरेका छन् । जनयुद्धमा माओवादीले ९ या १३ वटा प्रदेश निर्माण गरि गण्डकीलाई तमुवान र मगरात नामाकरण गर्ने एजेण्डा भएपनि सो अनुसार हुन नसकेको उनले बताए ।

पोखरामा आयोजित जनता समाजवादी पार्टीको संगठन सुदृढिकरण तथा जनजागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिर प्रतिपत्र ।

उनले गण्डकीलाई तमुवान र मगरात प्रदेश नामकरण गर्ने प्रयास जारी रहने बताए । ‘गण्डकी प्रदेशसभामा हाम्रो पार्टीबाट जम्मा दुईजना सांसद हुनुहुन्छ’ उनले भने, ‘उहाँहरुले आवाज उठाउनुभएको हो । तर, सम्बोधन भएन ।’ उनले जातियता र भाषिकताको आधारमा नामकरण गर्नुपर्ने बताए । जनता समाजवादी पार्टीको संगठन सुदृढिकरण तथा जनजागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले राज्य पुनसंरचना आयोगलाई ९÷१३ प्रदेश तोक्दै पुर्वमा लिम्बुवान, किराँत, तामसालिङ, नेवार तमुवान मगरात, कर्णलीलाई सेती महाकाली पनि राख्न सकिने साथै पश्चिमलाई खसाङ राख्न सुझाव दिएको बताए ।
पश्चिम मधेशमा थारुवान, लुम्बनीमा अगत बीचमा भोजपुरी र पुर्वपटी मैथिली गरी मधेशको नामाकरण गरिएको उनले बताए । ऐतिहासिक थलो, त्यहाँका बासिन्दाको मनोविज्ञान र भुगोल समेटी संघीय पुनसंरचना गर्ने जनयुद्धकै एजेण्डा रहेको उनले बताएका थिए । ‘समस्या पहिचानको होइन क्षेत्रीय उत्पीडनको हो’ उनले भने । राज्य पुनसंरचना आयोगले यसैका आधारमा पुनसंरचना गरेपनि कतिपय एजेण्डा समावेश नभएको उनको तर्क थियो । ‘संविधान नै पूर्ण छैन’ उनले भने, ‘संघीय शासन प्रणलीमा लोकतन्त्र पूर्ण भएको छैन । अझै केही एजेण्डा बाँकी नै छ । सुशासन, समृद्धि र विकासलाई एजेण्डा बनाएर अघि बढ्नुपर्छ ।’ उनले केपी शर्मा ओलीले कागजको पानी जहाज बनाएर, ठूलाठूला गफ दिएर समृद्धिको परिभाषा नै हल्का बनाइदिएको आरोप लगाए । संघीय शासन प्रणलीले नै संसद, सरकारमा समावेशी र समानुपातिक प्रतिनिधित्व गराएको उनको भनाई थियो । उनले संघीयकतालाई एकीकृत गरि लैजानुपर्ने बताए ।
संघीय शासन प्रणलीमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै आजको मुख्य एजेण्डा रहेको बताउदै उनले भने, ‘राजपासंग पनि यसविषयमा छलफल भइरहेको थियो । बीचमा पार्टीको आन्तरिक समस्याले लम्बिएको छ । सरकारले अध्यादेश ल्याएको छ । दुवै पार्टीका विद्रोही पक्ष अलगिएपछि हामी यसतर्फ लाग्छौ ।’ उनले औपचारिक रुपमा पार्टीले वैधानिकता नपाएको बताए । यसो त, उनले माधवकुमार नेपाल, पुष्पकमल दाहालसंग पनि समाजवादी चिन्तन एकै ठाउँमा उभिन पनि आग्रह गरेका छन् । ‘पार्टी एकै ठाउँमा उभिने भन्ने कुरा फरक हो’ उनले भने, ‘समाजवादको विषयमा एकै ठाउँमा उभियौ भनेका हौ ।’ उनले सरकार गठनमा पनि नेपाल र जसपा पार्टीले आधिकारीक रुपमा वैधानिकता नपाएकाले ढिलार्ई भएको प्रतिकृया दिए । मुलुकमा अहिले यथास्थितिवादीको शक्ति हावी भएको बताउदै उनले भ्रष्टाचार मौलाएको बताए । ‘भ्रष्टाचार र गरिबी बराबर छ’ उनले भने, ‘सुदुरपश्चिमको क्षेत्रमा गरिबी बढी छ । त्यसपछि दुई नम्बर र अन्य प्रदेशका ग्रामीण भेग । गरीबी न्युनीकरण गर्न जनतालाई रोजगारीमा कसरी संलग्न गराउने भन्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।’ उनले गरिबी, वेरोजगारी, समृद्धि, विकास, भ्रष्टाचार, सुशासनको लडाँई बाँकी नै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *