गण्डकीमा आगामी बर्षको बजेट तयारी

Share this post :

Facebook
Twitter
WhatsApp

साढे ३१ अर्वको हाराहारीमा बजेट ल्याइने । यो चालु बर्षको भन्दा कम हो ।

नयाँ नथपिने, पुरानै योजनालाई निरन्तरता

गण्डकी प्रदेशमा आगामी बर्ष २०७८÷७९ को बजेट तयारी थालिएको छ । संघीय अर्थ मन्त्रालयबाट बजेटको सिलिङ आएपछि गण्डकी सरकार बजेटको तयारीमा लागेको हो । गण्डकीको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रमेशकुमार केसीका अनुसार आगामी बर्ष साढे ३१ अर्वको हाराहारीमा बजेट ल्याउने गरी तयारी भएको छ ।
‘अहिले बजेट घटाएर ल्याउने छौ’ उनले भने, ‘कोरोनाका कारण बजेट निर्माणमा ठूलो असर पुग्यो । सोचे अनुसार बजेट खर्च हुन सकेको छैन । आर्थिक कृयाकलाप ठप्प छन् । उठ्नुपर्ने राजस्व पनि उठेको छैन । कसरी बजेट निर्माण गर्ने ? बढ्ने त कुरै भएन ।’ संघीय सरकारले प्रदेशलाई दिनुपर्ने राजस्व नदिने, स्थानीय तहले पनि राजस्व नबुझाउने भएपछि प्रदेश सरकारको लक्ष्य अनुरुप राजस्व उठ्न नसकेको सचिव केसीले बताए । उनका अनुसार आगामी बर्षमा आउने बजेटमा नया“ योजना समेटिदैनन् । पुरानै योजनालाई निरन्तरता दिने गरि बजेटको तयारी भएको केसीले बताएका छन् । ‘यसबर्ष जुन गतिमा काम हुनुपर्ने थियो, त्यो अनुसार काम हुन सकेन’ उनले भने ।
प्रदेश सरकारको आगामी बजेट कोरोना केन्द्रित हुनेछ । प्रदेशका ७ वटै मन्त्रालयमा बजेट सिलिङ पठाएर बजेट तर्जुमा गर्न लगाएको सचिव केसीले जनाए । ‘सवै मन्त्रालयमा बजेटबारे छलफल हुदैछ’ उनले भने, ‘कोरोनासंगै समावेशी, आर्थिक विकास, पर्यटन र उद्योगको पुनःउत्थान लगायतमा बढी बजेट केन्द्रित हुनेछ ।’ बजेटको सुनिश्चित नभएसम्म योजनाको ठेक्का लगाउने, अर्वौको योजना स्टीमेट बनाउने र करोडौ रुपैया विनियोजन जस्ता समस्याले बजेट ल्याउन समस्या भएको मन्त्रालयले जनाएको छ । यसले गर्दा योजनामा दिगोपना नहुने, प्रत्येक बर्ष बजेट छुट्याउनुपर्ने जस्ता समस्या बढी छन् । मन्त्रालयका अनुसार चालु बर्षमा चैत मसान्तसम्म ३१ प्रतिशत बजेट खर्च भएको छ । यस आवमा ७० प्रतिशत बजेट खर्च हुन अनुमान मन्त्रालयको छ ।
चालु आव २०७७÷७८ का लागि सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । गत आवको तुलनामा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी थियो । जसमा चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार (४१.२ प्रतिशत) र पु“जीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार (५७.४) प्रतिशत बजेट थियो । प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड (१.४ प्रतिशत) बजेट विनियोजन गरेको हो । आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारस“गको ऋणबाट १ अर्ब गरि २ अर्व ऋणमा बजेट ल्याएको थियो । यसबर्ष पनि ऋणमा नै बजेट ल्याउनुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । सरकारले यस आवमा ४ अर्व ६० करोड ८५ लाख ६० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसबर्ष पनि गतबर्षकै हाराहारीमा बजेटको सिलिङ आएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए । सरकार आगामी बजेटको गृहकार्यमा जुटेको बताउदै उनले कोरोनासंगै भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार स्वास्थ्य र कृषि पनि प्राथमिकतामा पर्नेछन् । जेठ १५ मा आगामी बर्षको नीति तथा कार्यक्रम र असार १ मा बजेट सार्वजानिक गर्ने गरि तयारी भइरहेको उनले बताए । यतिबेला सरकार फेरबदलको सम्भावना रहेकाले पनि बजेट बनाउनमा सवै दल, प्रदेशका विषयगत समितिहरु छलफलमा जुटेका छैनन् । विभिन्न चरणको छलफलमा जुट्ने बेला भएपनि लकडाउनका कारण छलफल गर्न कठिनाई भएको अर्थ मन्त्रालयले बताएको छ । यतिवेला आन्तरिक स्रोत घट्ने अनुमान सरकारको छ । ‘गतबर्षको भन्दा अहिले सवै मन्त्रालयमा बजेट सिलिड कम आएको छ’ प्रवक्ता बस्नेत भन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *