गण्डकीमा ११ मन्त्रालय

Share this post :

Facebook
Twitter
WhatsApp

मुख्यमन्त्रीले लिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी

एघार जिल्ला रहेको गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय बनाइएको छ । बुधबार बसेको मन्त्री परिषद्को वैठकले गण्डकी प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ लाई संशोधन गरेर मन्त्रालय फुटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार मन्त्रालय विभाजन गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्राएर दुई÷दुईवटा बनाइएको हो । यससंगै बुधबार नियुक्त भएका मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी पनि तोकिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेका छन् । सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाइएको हो । यसैगरी, किरण गुरुङले अर्थ मन्त्रालयसंगै भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समालेका छन् । यस्तै, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, उर्जा जलस्रोत तथा खानेपानी र कानुन संचार तथा प्रदेशसभा मामिलाको जिम्मेवारी पाएका छन् । नरदेवी पुन मगरलाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति र वन, वातावरण तथा भूसंरक्षण र राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसभन्दा अघि सामाजिक विकास मन्त्रालय टुक्राएर युवा तथा खेलकुद बनाइएको थियो । योसंगै गण्डकीमा ११ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय थप गरिएको भएपनि तत्काल मन्त्री थप गर्ने योजना नरहेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । यसअघि उक्त नियमावलीमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सहित ७ वटा मन्त्रालय रहने प्रावधान थियो । गण्डकी प्रदेशमा १२ वटासम्म मन्त्रालय थप गर्न सकिने गरि नियमावली संशोधन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *