गण्डकी प्रदेशसभामा कार्य व्यवस्था परामर्श समितिको बैठक आज विहान ११ बजे बस्ने भनिएको भएपनि अहिलेसम्म सुरु भएको छैन् । सभामुख नेत्रनाथ अधिकारीले सवै माननीय नआइसकेकाले वैठक सुरु नभएको बताए । सभामुख अधिकारीले सवै राजनीतिक दलसँग सल्लाह गरेर बैठक राखेका थिए ।
प्रदेश सभा वैठक वैशाख १५ देखी अनिश्चितकालको लागि स्थगित छ । आजको वैठक महत्वपूर्ण हुने ठानिएको छ । अब संसद् बैठक कहिले बस्ने भन्ने सोमबारको कार्यव्यवस्था समितिको बैठकले टुंग्याउनेछ । ‘बैठकले टुंग्याएको मितिमा अविश्वासको प्रस्तावमाथी मतदान हुनेछ ।
यसअघि वैशाख १ मा राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु हिउँदे अधिवेशन नयाँ वर्षकै मध्यरातिदेखि अन्त्य गराएका थिए । वैशाख २ मा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परे । त्यसै दिन कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेस भयो ।
वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन बुझाए । प्रदेश प्रमुखले वैशाख १३ गते विशेष अधिवेशन बोलाए । त्यस दिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव टेबुल गरे । अविश्वास प्रस्तावमाथि छलफल भयो । वैशाख १४ मा सम्पूर्ण सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै सत्तापक्ष एमालेले नै संसद् बैठक अवरुद्ध गर्यो । भोलिपल्ट वैशाख १५ मा एमालेका २ र कांग्रेसका १ सांसदलाई कोरोना पोजिटिभ देखियो । वैशाख १५ मै अविश्वास प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्ने कार्यसूची तय थियो । त्यही दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा अनुपस्थित भए । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा समर्थन गर्ने निर्णय गरिसकेको अवस्थामा सांसद शाही मोबाइल ‘स्विच अफ गरी सम्पर्क विहीन भएपछि खैलाबैला मच्चिएको थियो । जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसदको अवस्था अज्ञात रहेकाले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद् सचिवालयमा निवेदन दिइन् ।
सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगन गरे । सम्पर्कविहीन भएका सांसद शाही एक्कासि पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको सार्वजनिक भयो । उनी हालसम्म अस्पतालमै भर्ना छन् । एमालेले भने सभामुखद्धारा गरिएको संसद् स्थगितको विरोध जनाएको छ ।
