गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसंगै गण्डकी प्रदेश सरकारसमेत ढल्ने निश्चितजस्तै भइरहेको बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।
सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेशसभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहीबार राति १२ बजेटबाट अन्त्य भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
बुधबार प्रदेशसभाको वैठकमा प्रदेशप्रमुख गुरुङले सम्बोधन गरेपछि सभामुख कृष्ण धितालले अनिश्चितकालसम्मका लागि संसद वैठक स्थगित गरेका थिए । यस अधिवेशनमा चारवटा विधेयक पारित भएका छन् भने, २ वटा अध्यादेश स्वीकृत भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार हालसम्म १७ वटा वैठक बसेको छ ।
यस अधिवेशनमा कार्य व्यवस्था परामर्श समिति र गण्डकी प्रदेशसभा नियमावली मस्यौदा समिति गठन भएका छन् भने, संसदीय समिति गठन हुन सकेनन् ।