गण्डकी प्रदेश प्रहरी देशकै उत्कृष्ट

Share this post :

Facebook
Twitter
WhatsApp

नौ महिनामा १३ सय १९ जना फरार अभियुक्त पक्राउ

गण्डकी प्रदेश प्रहरीको कार्यालय । तस्बिर प्रतीक्षा काफ्ले/कान्तिपुर ।

गत पुषमा स्याङ्जा प्रहरीले एकैदिन एकसय ११ जना फरार अभियुक्त पक्राउ गर्न सफल भयो । स्याङ्जाले नमुना काम गरेको भन्दै प्रदेश प्रहरीले प्रदेशका ११ वटै जिल्लामा फरार अभियुक्त पक्राउ गर्ने अभियान चलायो । सो अनुरुप चालु बर्षको नौ महिनामा गण्डकी प्रदेशभरी १ हजार ३ सय १९ जना अभियुक्त पक्राउ परे । विभिन्न शिर्षकका मुद्दामा फरार रहेका अभियुक्त पक्राउ गर्न सफल भएपछि प्रदेश प्रहरी बुधबार देशभरीकै उत्कृष्ट प्रहरी घोषित भएको छ ।
प्रदेश प्रहरीका प्रवक्ता मोहनप्रसाद पोखरेलले पक्राउ पर्नेमा १ हजार १ सय १ जना पुरुष र २ सय १८ जना महिला रहेको बताए । प्रदेश प्रहरीको तथ्यांक अनुसार २०७६ साउनदेखी चैतसम्म १ सय ४९ पुरुष र १३ महिला गरी १ सय ६२ जना पक्राउ परेका थिए । प्रवक्ता पोखरेल भन्छन, ‘गतबर्षको तुलनामा यसबर्ष उल्लेखनीय रुपमा पक्राउ गर्न सफल भएका छौ । फरार अभियुक्त पक्राउ गर्ने प्रहरीको अभियान सफल भएको छ ।’ १३ सय १९ जनाबाट ४ सय ७२ बर्ष ११ महिना १० दिन कैद असुल भएको छ भने, २ करोड ८० लाख ३० हजार ५ सय १२ रुपैया जरिवाना उठाइएको एसएसपी पोखरेलले बताए । गतबर्षको नौ महिनामा ७६ बर्ष २ महिना १९ दिन कैद भुक्तानी र ४२ लाख १४ हजार ७ सय ४७ रुपैया राजस्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाउको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपाट मुद्दामा संलग्न रहेका थिए । ‘अदालतले फैसला गर्छ उनीहरु फरार हुन्छन’ पोखरेलले भने, ‘प्रहरीले धेरै बर्ष पुराना घटनाका अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।’ कोरोना महामारीका बेला जोखिम मोल्दै प्रहरी अभियुक्त खोज्न घरघर पुगेको थियो । लकडाउनको बेला घरमा आएको मौका पारी अभियुक्त समात्न सादा पोषाकमा प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । ‘पुराना मुद्दाका अभियुक्तलाई खोज्नै गाह्रो हुन्छ’ पोखरेल भन्छन, ‘कसैको नाम मिलेको हुदैन कसैको ठेगना । दुईवटा नागरिकता पनि समस्याको जड हो ।’ उनले बसाँइसराँइले पनि अभियुक्त पहिचान गर्न समस्या भएको बताए ।
चालु बर्षको नौ महिनामा प्रहरीले तस्करी नियन्त्रण तर्फ (प्राकृतिक दोहनसहित) १ करोड ८६ लाख ६० हजार २ सय ५३ र ट्राफिक कारबाहीतर्फ ६ करोड ५६ लाख ३१ ह्जार २ सय रुपैया राजस्व संकलन गरेको छ । यसैगरी १ सय २९ थान हतियारसहित ४६ जना पक्राउ गरेको छ भने ४३ वटा मुद्दा दर्ता गरेको छ । अवैध वन पैदावर नियन्त्रणमा विभिन्न वन्यजन्तु र अखेटापहरसहित २ जना पक्राउ परेका छन् भने, १ हजार ३ सय ९२.६ केजी विभिन्न जडीबुटी सहित ७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अन्दाजी ४२ लाख २० हजार ७ सय ५३ रुपैया बराबरको जडीबुटी बरामद भएको थियो । यसैगरी १ हजार ९ सय ३८.७५ क्यूफिट काठसहित १५ वटा सवारी साधन र २७ जना मानिस पक्राउ परे । ४० लाख ७१ हजार ८ सय १६ रुपैया मुल्य बराबरको अवैध काठ पक्राउ गरिएको प्रवक्ता पोखरेलले जनाए ।
यिनै कामको आधारमा नै गण्डकी प्रहरी सातवटा प्रदेशमध्ये उत्कृष्ट घोषित भएको कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक र सातवटै प्रदेशका प्रहरी प्रमुखबीच एक बर्षको कार्य सम्पादन मुल्यांकन गरिएको थियो । बुधबार बसेको मुल्यांकन छनोट समितिले गण्डकी प्रदेशलाई उत्कृष्ट घोषण गरेको हो । केही दिनअघि प्रदेशले गरेको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा उत्कृष्ट भएको थियो । आइ लभ यु बुढी अभियान चलाएको स्याङ्जा प्रहरीले प्रहरीलाई हाउस वयरिङ तालिम, आर्थिक सुशासन सम्बन्धी तालिम दिदै आएको छ । कर्तव्य ज्यान मुद्दा, जवरजस्ती करणी लगायतका ठूला मुद्दामा सफल अनुसन्धान गरेको र फरार अभियुक्त, भरुवा बन्दुकसहित धमाधम मानिस पक्राउ गर्न सफल भएको भन्दै स्याङ्जा प्रहरी प्रदेशकै उत्कृष्ट घोषित भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले जनाए । प्रदेशभर नौ महिनामा विभिन्न शिर्षकमा १ हजार ९ सय ६४ वटा मुद्दा दर्ता भएका छन् भने, गत आवको नौ महिनामा २ हजार ३ सय ६१ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । कान्तिपुरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *