ग्रामीण भेगमा स्वास्थ्यकर्मी पठाउन थप प्रोत्साहन– मुख्यमन्त्री नेपाली

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।
कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पुयाएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको बताए । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै उनले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पुयाउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं ।’
सिमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए । स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्रीले बताए । उनले भने, ‘प्रदेशमा के कस्तो स्वास्थ्य नीति अपनाउनु पर्ने हो र कसरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा दिन सकिन्छ भनेर हामी लागी परेका छौं ।’
हरिचौर स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी नगर अस्पताल घोषणा गरिए पनि कार्यन्वयनमा आउन नसकेको गुनासो संवोधन गर्दै उनले पोखरा फर्के लगत्तै यसबारेमा आफूले चासो दिने प्रतिबद्धता जनाए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको भन्दै मुख्यमन्त्रीले प्रदेशको क्षमता अनुसार काम गर्दै आएको भनाइ राखे ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको भनाइ राखिन् । गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरैले करिब ४ वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम भन्दै यसको मूल्यांकन नागरिकले गर्ने बताए । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उनले सुनाए । उपमेयर रेनुकुमारी काउचा मगरले सिमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताइन् ।
३ बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । ८ रोपनी जमिनमा ७ करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारिमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
मेडिकल अधिकृत डा सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित २४ सै घन्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताए । जनशक्तिको अभावमा ल्याब २४ सै घन्टा सञ्चालन गर्न नसकिएको भन्दै उनले एक्सरे मेसिन सञ्चालन कार्यालय सहयोगीले गर्नुपर्ने अवस्था रहेको सुनाए । गलकोट सेवा जापानले स्वास्थ्य केन्द्रलाई आधुनिक एक्सरे मेसिन प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *