चीनमा अति खराब मौसम र हिमपातका कारण २१ जना म्याराथन सहभागीहरुको मृत्यु भएको छ । उत्तर पश्चिम चीनको गान्सु प्राप्तमा आइतबार बिहानै मौसम खराब हुँदा १ सय किलोमिटर क्रस कन्ट्री माउन्टेन रेस प्रभावित भएको हो ।

उद्धारकार्य अझै जारी रहेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । मौसममा एक्कासी परिवर्तन हुँदा शनिबार दिउँसो १ बजेदेखि हुरी र हिमपात सुरु भएको चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले जनाएको छ । चिसो मौसमले सहभागीहरुलाई थाइपोथर्मिया भएको र केही सहभागीहरू हराएको ग्लोबल टाइम्सले जनाएको छ । यस घटनापछि म्याराथन स्थगित गरियो र स्थानीय अधिकारीहरुले उद्धार र खोजीमा ध्यान केन्द्रीत गरे ।
उद्धारका लागि ७ सयभन्दा धेरै व्यक्तिहरु परिचालन गरिएको छ । १ सय ७२ जना म्याराथन सहभागीमध्ये १ सय ५१ जना सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् । यसमध्ये आठ जनालाई अस्पताल लग्नुपरे पनि उनीहरु अवस्था स्थिर रहेको जानकारी दिइएको छ । हिमाली क्षेत्रको चिसो, अझै घट्दो अवस्थामा रहेको तापक्रम र सञ्चारको कमजोर सिग्नलका कारण उद्धारकार्य कठिन भइरहेको जनाइएको छ ।