गण्डकी प्रदेशमै पोखरामा पहिलो आकाशेपुल, फोटो खिचाउनै आउँछन् अधिकाशं ।उमेरले भर्खरै १८ पुगेकी निशा थापा फुर्सदको समय आकाशेपुल पुगिहाल्छिन् । विहान–बेलुका हावा खाने, पुलको स्टेपस्टेपमा घुम्दै रमाउने, सेल्फी खिच्ने र टिकटक बनाउने उनको दैनिकी जस्तै बनेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–६ थापा गाउँ घर भएकी उनी पोखरा महानगर–८ सृजनाचोकस्थित एक प्रिन्ट हाउसमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् ।
उनको डेरा पनि आकाशेपुल नजिकै पर्छ । भन्छिन, ‘पोखराकै पहिलो आकाशे पुल भएकाले होला साह्रै याक्साइटेड भएको छ । यही पुल हुदै कोठामा जाने र डियुटी आउने गर्छु । दिनमा जतिपटक हिडे पनि एकपटक फोटो नखिचे, एउटा न एउटा नयाँ गीतमा टिकटक नबनाए त धितै मर्दैन ।’ उनका दुईवटी साथी पनि उनीजस्तै छन् । २४ बर्षिया सुस्मिता सुनार र २० बर्षिया पुष्पा चौधरी थापासंगै एउटै प्रिन्ट हाउसमा काम गर्छन् । फुर्सदको समय मिलाएर आफूहरु आकाशेपुलमाथि दौडिहाल्ने स्वंम बताउछन् । ‘हाम्रो लागि यो नौलो हो’ थापाले थपिन्, ‘हामीलाई पनि नौलो लागेको छ । काठमाण्डौमा आकाशेपुल छ भन्ने सुनेकी म आफ्नै ठाउ“मा आकाशेपुल हेर्दा निकै रमाइकी छु । रमाइलो लाग्या छ ।’ उनले आकाशेपुलमाथिको पहिलोपटक अनुभव बटुलेकी थिइन् ।
चारवटा बाटो निकालेर बनाइएको आकाशेपुल विहानबेलुका हावा खाने, फुर्सदको समय घुम्ने र फोटो खिच्न मिल्ने गरि निर्माण गरिएको छ । पुलमाथि बीचको भाग फराकिलो बनाइएको छ । पुलमाथि प्लाष्टिको छाना लगाइएको छ । पुलमाथि बार बारिएको छ भने, गमलाभरी फुलले सज्याइएको छ । पुल वारपार गर्ने जोकोही पनि एकपटक घुमेर र पुलमाथि आनन्द लिएर मात्र आफ्नो बाटो लाग्छन् । पुल अहिले आन्तरिक पर्यटकको पर्यटकीय गन्तव्य जस्तै बनेको छ । पुल हेर्नकै लागि कर्यौ मानिस आउने गरेको सुनारले बताइन् । ‘यहा“ टिकटक बनाउन र सेल्फी खिच्नकै लागि पोखराका टाढा–टाढा ठाउँका मान्छे पनि आउने गर्छन्’ उनले भनिन्, ‘यहा“ छुट्टै रमाइलो छ । बजारको भीडभाड, चहलपहल छ । अनि सृजनाचोक सेन्टर पनि पर्छ त्यसैले होला मान्छेको भीड उस्तै हुन्छ ।’ केटोकटी, युवायुवती, वयश्क र बृद्धबृद्धा आकाशे पुल हेर्नकै लागि आउने गर्छन् । पुलले पोखराकै सौन्दर्यता झल्काएको स्थानीको भनाई छ ।
पुलको चारैपट्टि पोखराका विभिन्न पर्यटकीय स्थलका फोटो टाँसिएको छ । पोखरा महानगर–८ सिर्जनाचोकमा अवस्थित आकाशेपुल गण्डकी प्रदेशकै पहिलो पुल हो । पोखरा–१ बगरकी ३७ बर्षिया विन्दा परियार दुई छोराछोरी लिएर फोटो खिच्नकै लागि आकाशे पुल आएकी थिइन् । आइतबार विहान खाना खाएपछि पुल हेर्न आएकी उनी दिनभर पुलमाथि नै बसेर बेलुका सा“झमा मात्र घर फर्किएको बताइन् । ‘श्रीमान डियुटी जानुभएको थियो’ उनले भनिन, ‘घरमा के नै काम छ र ? छोराछोरीलाई खाना खुवाए अनि पुल हेर्न लिएर आएकी थिए । दिउ“सो गर्मी भयो अनि दिनभरी यत्तै चटपट र पानीको भरमा दिन कटाइयो ।’ फोटो खिचाउने, भिडियो बनाउने र टिकटक बनाउन समय गएको पत्तै नहुने उनको भनाई छ । ‘टिकटकले धेरै समय खाने’ उनले थपिन्, ‘टिकटक यति नशा लागेछ एकछिन नहेरि र नबनाई मनै मान्दैन । टिकटक छैन त के छैन के जस्तो हुने ।’ पुलमाथि कोही हिन्दी त कोही नेपाली गीत लगाएर टिकटक बनाउनमै व्यस्त देखिन्थे । पुरुष या महिला कोही पनि टिकटक नबनाउन पछाडि हट्दैन्थे । पृथ्वीचोककी विनिता पोखरेल पोखराको आकाशेपुल पर्यटकीय दृष्टिकोणमा निर्माण गरिएको तर्क गर्छिन् । ‘काठमाण्डौका आकाशे पुल हेरौ न कति फोहोर छन्’ उनले भनिन, ‘चाहिने भन्दा नचाहिने मान्छे मात्र भेटिने । फोहोरले कतिबेला पुल काटौ भन्ने हुन्छ । त्यस्ता पुल हेर्न को आउ“छन र ? पोखरामा पहिलोपटक भर्खरै बनेको भएर पनि होला सफा छ । फुलैफुलले सजाइएको छ ।’ उनले पोखराको डिजाइनले काठमाडौका कुनै पनि आकाशेपुल निर्माण नगरिएको बताइन् । सो पुलको असार दोस्रो हप्तामा उद्घाटन गर्ने भनिएपनि हालसम्म उद्घाटन गरिएको छैन् । पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले भ्याट सहित साढे २ करोड ५४ लाख लागतमा आकाशेपुल निर्माण गरिएको बताए । आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद तथा पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैया“ विनियोजन गरेका थिए भने । बाँकी रकम पोखरा महानगरले खर्च गरेको उनले बताए । पोखरामा बढेको ट्राफिक चापलाई मध्येनजर गर्दै पुल निर्माण गरिएको बताउदै उनले भने, ‘बटुवाको लागि धेरै सहज भएको छ । जहापाए त्यहीबाट बाटो काट्दा सवारीसाधन पनि दुर्घटना हुने चिन्ता ।’ दुईबर्ष अघि निर्माण गरिएको यो पुल साउनमा सम्पन्न भएको थियो । अध्यक्ष बरालले पुल आधुनिक डिजाइनबाट निर्माण गरिएको बताए ।
पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित निर्माण गरिएको आकाशेपुल । यो पुल गण्डकी प्रदेशकै पहिलो आकाशेपुल हो । पुल आधुनिक डिजाइनले बनाइएको हुदाँ फोटो खिच्न र टिकटक बनाउनको लागि आकर्षण बन्दै गएको छ । २ करोड ५४ लाख रुपैयाँ लागतमा दुईबर्ष अघि निर्माण गरिएको पुलको निर्माण कार्य साउनमा सम्पन्न भएको हो ।