तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
‘बिरामी भई होम आईसोलेसनमा छुट्टै बस्दा मनमा अनेक खालका भावना, कुरा खेल्ने भएकाले तनाव बढ्न सक्छ’ उनले भने, ‘सङ्क्रमितमा कुनैपनि तनाव नदेखियोस्, होम आईसोलेसन बसाईलाई तनावमुक्त बनाउनका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन शुरु गरेका हौं ।’ सङ्क्रमित हुने बित्तिकै समाजले उनीहरुलाई गर्ने ब्यवहार तथा विभिन्न सामाजिक सञ्जालमा आएका नकारात्मक टीका टिप्पणीले असर पार्न नदिनका लागि टेलिफोन तथा नियमित भेटघाटमार्फत आवश्यक परामर्श प्रदान गरिएको उनले बताए ।
वालिङ नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा दैनिक एन्टिजिनमार्फत परीक्षण गर्दै आईरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । रोगको लक्षण देखिएका वा कन्टयाक्ट ट्रेसिङमा परेकाको नाम, ठेगाना, सम्पर्क नम्बर राखी परीक्षण गरिने र सङ्क्रमण पुष्टि भएसँगै आवश्यक औषधि तथा पालना गर्नुपर्ने नियमसहित होम आईसोलेसनमा राख्ने गरिएको पाण्डेले बताए । समय–समयमा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी घर घरमै पुग्ने गरिएको छ भने सामान्य समस्यालाई फोनबाटै २४ सै घण्टा र आवश्यकता अनुसार घरमै पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिने गरिएको उनले बताए ।
वालिङ नगरपालिका, र गह«ौं प्राथमिक अस्पतालको समन्वय तथा सहकार्यमा बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्र (टिपिओ नेपाल)द्वारा टेलिफोनमार्फत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराईएको संस्थाका स्याङ्जा जिल्ला संयोजक जननी मगरले बताइन् । नगरभित्रका झण्डै दुईसय जना सङ्क्रमितको सम्पर्क नम्बर लिएर सम्पर्क गर्ने र उनीहरुको भावना बुझ्ने कार्य भईरहेको उनले बताइन् । मनोसामाजिक परामर्शका लागि तालीम प्राप्त चार जना मनोसामाजिककर्ता सक्रिय रहेका छन् । ‘घरमा एक्लै बस्दा समय लामो भएजस्तो हुने गरेको अनुभवहरु सुनाउनुहुन्छ’ संयोजक मगरले भनिन, ‘हामीले फोन गर्दा निक्कै खुशी हुनुहुन्छ, आफ्ना समस्या खुलेर राख्ने गर्नुभएको छ, अनि उहाँहरुले भन्नुहुन्छ ‘कति खुशी लाग्यो, फेरि–फेरि पनि फोन गरिराख्नु है’ ।’ सङ्क्रमित भई होम आईसोलेसनमा बस्नेको कुरा सुन्दिदामात्रै पनि मन हल्का भएको, धेरै तनाव हराएर गएको अनुभव परामर्शदातासँग छ । समय समयमा फ्लोअप गर्ने गरिएको संयोजक मगरले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *