गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सभामुख नेत्रनाथ अधिकारीलगायत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षाको माग गरेका छन् । तीनवटै पार्टीको बिहीबार भएको संयुक्त बैठकपछि विज्ञप्तिमार्फत प्रदेशसभा सदस्यलाई विभिन्न धम्की र प्रलोभन दिइएको जनाइएको छ । साथै, त्यस्ता व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याउन पनि ती दलहरुले माग गरेका छन् ।
विज्ञप्तीमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाको विश्वसनियताको जाँचको पनि माग गरिएको छ । ‘शाहीलाई आईसीयूमा राखिएको चरक अस्पतालको सीसीटीभीका सबै फुटेजको जाँच गरी सार्वजनिक गरियोस,’ विज्ञप्तिमा छ । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने मिति बुधबारलाई तय भएकोमा राजमो सांसद प्रदेशसभामा अनुपस्थित भएका थिए । उनी बुधबार दिउँसो चरक अस्पतालको आईसीयूमा राखिएको अवस्थामा सार्वजनिक भएका थिए ।

दलहरुले लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा वैशाख १४ दिउँसो ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको तर सोही दिन सोही समयमा खिमविक्रम शाही प्रदेशसभा परिसर नदीपुरमा स्वाब दिइरहेको दलहरुले जनाएका छन् । ‘एक व्यक्ति एउटै समयमा २ स्थानमा उपस्थित हुन कसरी सम्भव छ ? एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के पर्यो ?,’ विज्ञप्तिमा छ । साथै, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ देखाउने र आधा घण्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजिटिभ देखाउनु रहस्यमय र अस्वभाविक रहेको उनीहरुले जनाएका छन् ।