
सिदार्थ राजमार्गबाट स्याङ्जाको अर्जुनचौपारी हुदै पर्वतको लुंखु देउराली जोड्ने ग्रामीण सडक हो, छापा–सल्यान–आर्गिखर्क–सल्या–लुंखु–पर्वत । यदी यो सडक कालोपत्रे भयो भने लुंखुदेउराली मात्रै होइन स्याङ्जाका बासिन्दा सहजै जिल्ला सदरमुकाम र पोखरा आउन सक्छन् । जिल्ला पर्वत भएपनि लुङखुका बासिन्दाको पायक पर्ने क्षेत्र स्याङ्जा हो ।
‘सडक कालोपत्रे हुन्छ भनेको ५ बर्षभन्दा बढी भयो सडकको कालो रुप कहिलै देख्न पाइएन’ लुंखुका ४९ बर्षिय प्रेमबहादुर दर्जी भन्छन, ‘यदी यो सडक निर्माण हुने हो भने, हामलाई पोखरा पुग्न पनि समय लाग्दैन ।’ उनले भाडादरमा नै डेढसय रुपैयाँ फरक पर्ने बताए । यहाँका बासिन्दा अहिले पोखरा जानुपरेमा कार्कीनेटा–नाँगडाडा हुदै जानुपर्छ । संघीय सरकार अन्र्तगर्त निर्माणधीन यो सडक हालैमात्र प्रदेशलाई हस्तान्तरण भएको छ । सडक नबन्नुमा बजेट अभाव र ठेकेदारको लापारबाही रहेको स्थानीय बताउछन् ।
अर्जुनचौपारी गाउँपालिका–१ का ईश्वर केसीले ठेकेदारको लापारबाहीका कारण सडक निर्माणले गति लिन नसकेको बताए । भन्छन, ‘काम हुन्छ मात्र भन्ने तर, समय नदिने । कामदार पनि खासै हुदैनन् । अनि कसरी समयमै काम सकियोस त ?’ उनले तोकिएको समयभित्र काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । यो सडक बन्यो भने स्याङ्जाको अर्जुनचौपारी गापा र पर्वतको महाशिला गापाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुन्छन् । ‘स्थानीय उत्पादनले पनि बजार पाउथ्यो’ उनले भने, ‘बजार झार्नको समस्याले अहिले उत्पादीत वस्तु गाउँमै फालिन्छ । मान्छे नै सहज यात्रा गर्न सकिदैन । सामान कसरी बजार झार्ने ?’ बजेट अभावका कारण पनि सडकको काम द्रुत गतिमा हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले बताए ।
उनका अनुसार यसबर्ष १ करोड ५० लाख रुपैया विनियोजन भएको छ । ‘हामीलाई यो योजना सम्पन्न गर्न अझै ५ करोड रुपैयाँ आवश्यक पर्छ’ भण्डारीले भने, ‘डेढ करोड संघीय सरकारको ससर्त अनुदानको रकम हो । प्रदेशले बजेट छुट्याएको छैन ।’ १० करोड ७१ लाख सम्झौता भएमध्ये हालसम्म ५ करोड ६४ लाख रुपैया भुक्तानी भएको इन्जिनियर भण्डारीले बताए । २०७३ पुष ११ मा सम्झौता भएको यो सडकको सम्पन्न मिति २०७५ असार २९ हो । २०७७ पुष १४ मा सम्पन्न गर्ने गरि दोस्रोपटक म्याद थप भएको कार्यालयले जनाएको छ । कोरोनाका कारण समयमै सम्पन्न गर्न नसकिएका योजना सम्पन्न गर्नको लागि सरकारले ६ महिनाको म्याद थप गरेको छ । सो अवधिमा पनि योजना सम्पन्न नहुने बताउदै भण्डारीले अझै म्याद थप गर्नुपर्ने बताए । लामोसमयसम्म सडक निर्माण कार्य अलपत्र भएपछि स्थानीयले विरोध गर्दै आएका थिए । सडक विभागले (संघबाट) यो सडक प्रदेशलाई २०७७ पुष २७ मा हस्तान्तरण गरेको थियो ।
सडकको ५० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर भण्डारीले बताए । ‘पर्वतको महाशिलाले आफ्नो क्षेत्र पिच गरेको छ, स्याङ्जाको भाग हो पिच गर्नुपर्ने’ उनले भने, ‘स्याङ्जातर्फ १३.५ मिटर पिच गर्नुपर्छ ।’ संघीय सरकारले लिएको कालोपत्रे गर्ने योजना लामोसयमदेखी अलपत्र परेपछि प्रदेशलाई हस्तान्तरण गरेको हो । ८ मिटर चौडाई रहेको यस सडकमा हाल नाला निर्माण गर्ने, पर्खाल लगाउने र ग्राभेलको काम भइरहेको छ । सूर्य सिरुवा बन्दना कन्सल्ट्रेन्सीले निर्माणको जिम्मा लिएको छ । यसैगरी, पाल्पाको रानीमहल जोड्ने मिर्मि–विर्घा–रानीघाट सडक पनि बर्षौदेखी अलपत्र छ । लामोसमयसम्म अलपत्र परेपछि संघले यो योजना २०७५ चैत १२ मा प्रदेशलाई हस्तान्तरण गरेको थियो । ८ मिटर चौडाई रहेको सडकको पिच गर्नुपर्ने भाग १२.२ किलोमिटर छ । ३१ भदौ २०७३ मा सम्झौता भएको यो सडकको निर्माण सम्पन्न गर्नुपर्ने मिति ३० फागुन २०७५ हो । २०७७ मंसिर २९ मा पहिलोपटक म्याद थप भई काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १९ करोड ६६ लाखमा सम्झौता भएको सडकको ६ करोड १० लाख रुपैया मात्र आएको छ । यसबर्ष एक करोड ३० लाख रुपैया ससर्त अनुदानबाट प्राप्त भएको इन्जिनियर भण्डारीले बताए । ७ किलोमिटरमा ग्राभेलको काम भइरहेको बताउदै भण्डारीले भने, ‘सर्वे नगरी सडक खनिएको रहेछ । सुरुवाटै समस्या आयो । यलाएन कुन हो फिक्स छैन । वइयाबाट रानीमहलसम्म खनिरहेकै हो भन्ने छ तर, अर्कोथरी मान्छे अर्कै हो यो सडक रुट होइन भन्छन् ।’
बजेट अभावसंगै विना सर्वे सडक खन्दा ढिला भएको उनको भनाई छ । ठेकेदार र कार्यालय दुवैपक्षको लापारबाही रहेको प्राविधिक स्ंयम बताउछन् । सडकको निर्माण जिम्मा सन्तोषी निर्माण सेवाले लिएको छ । स्थानीय गणेश खनालका अनुसार धार्मिक, पर्यटनको रुपमा पनि यो सडक लिइने गरेको छ । भन्छन, ‘यो सडक बन्ने हो भने पाल्पादेखी कालीगण्डकी, मिर्मि, आलमदेवी आउने पर्यटकको संख्यामा बृद्धि हुनेथियो ।’ उनले आलमदेवी मन्दिर, एसियाकै ठूलो शिला शालिग्राम र नेपालकै ठूलो जलविद्युत्त परियोजना कालीगण्डकी यही क्षेत्रमा पर्ने भएकाले धार्मिक तथा पर्यटकीय रुपमा आउने मानिसको संख्या बृद्धि हुने बताए । उनका अनुसार पाल्पाको सडकखण्ड पिच भएपनि स्याङ्जा खण्डको बाटो अप्ठ्यारो हुदाँ मिर्मि आउने पर्यटक बीचबाटोबाटै फर्किने गरेका छन् । यस बाटोबाट दुई जिल्लाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने खनालले बताए ।