देशभर आईसीयू र भेन्टिलेटर गरी ९८१ जना कोरोनाका बिरामी उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये आईसीयूमा ७९० र भेन्टिलेटरमा १९१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
उपचार गराउनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् । त्यहाँ आईसीयूमा ५०४ र भेन्टिलेटरमा ११९ जना रहेका छन् । यस्तै, वाग्मती प्रदेशमा मृत्यु हुनेको संख्या पनि अरु प्रदेशभन्दा अधिक छ । कोरोनाबाट यो प्रदेशमा ४ हजार ४२८ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी प्रदेश १ मा १३० जना आईसीयूमा र भेन्टिलेटरमा ५३ जनाको उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ६६ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा ५ जना आईसीयूमा उपचार गराइरहेका छन् । यो प्रदेशमा भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या शून्य छ ।
गण्डकी प्रदेशमा ७० जना आईसीयूमा उपचार गराइरहेका छन् भने ६ जना भेन्टिलेटरमा छन् । सुदुरपश्चिममा ८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । तथ्यांकले उपत्यकाको अधिकांस अस्पतालमा भेन्टिलेटर र आईसीयूमा लगभग बिरामीको संख्या भरिभराउ देखाएको छ । २० वटा आईसीयू र ८ वटा भेन्टिलटेर रहेको वीरेन्द्र अस्पताल छाउनीमा सबै भरिएका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा २८ वटा आईसीयू छन् । त्यहाँका २२ वटा आईसीयू भरिएका छन् । २२ वटा भेन्टिलेटरमध्ये १९ जनाको उपचार भइरहेको छ ।
