नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रस्ट पार्दै आफूहरु पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावसम्म जाने रणनीतिमा केन्द्रित रहेको बताएका छन् । शुक्रबार सो पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने जानकारी दिए ।
‘हामी पाँच दलीय गठबन्धनलाई बलियो बनाउन चाहन्छौं । अहिले हामी कुनै दलसँग पार्टी एकता गर्न गइरहेका छैनौं,’ उनले भने, ‘गठबन्धनसँग चुनावी तालमेल गरेर निर्वाचनमा जान्छौं ।’ उनले आफ्नो पार्टी नवीन सोच र मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदय भएको पनि प्रस्ट पारे । ‘क्षितिजमा चम्किरहेको नयाँ ताराले नयाँ आशा र विश्वास जनमानसमा सृष्टि गर्नेछ,’ उनले भने, ‘सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई हटाउनेछ ।’
उनले जनतालाई अल्मल्याउन आफूहरु १० थरी कुरा नगर्ने पनि प्रस्ट पारे । ‘हामी यथार्थ कुरा बोल्ने छौं, त्यत्तिकै सपनाको तरेली, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन १० थरी कुरा गर्ने छैनौं ।’ नेपाल राष्ट्र र नेपाली जनता नै आफूहरुको सम्पूर्ण सोच, चिन्तन र व्यवहारको केन्द्र हुने उनले बताए । समाजलाई अग्रगमन र परिवर्तनका दिशामा लैजान लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गरेर अघि बढ्ने कुरा बताएका थिए ।
