नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन । नेपालका लागि अञ्जन विष्टले पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गरे ।
भारतीय डिफेन्डर चिंगलने सानाको ब्याक पासमा भारतीय गोलरक्षक गुरप्रित सिंहले बल नियन्त्रणमा लिन नसकेपछि अञ्जनले ३६ औं मिनेटमा सजिलै गोल गरे । उनले बललाई पोस्टको दिशा दिंदा गोलरक्षक अगाडि रहेको स्थिति थियो । नेपालको लागि अञ्जनको यो व्यक्तिगत पाँचौं गोल हो ।
नेपालले खेलमा प्राप्त गरेको यो नै पहिलो स्पष्ट मौका थियो र त्यसमै नेपाल गोल गर्न सफल रह्यो । यसअघि अञ्जन पेनाल्टी एरिया बाहिर प्राप्त फ्रि किकको फाइदा उठाउन सफल रहेनन् । उनको प्रहार फितलो रह्यो र गोलपोस्टको निकै माथिबाट बाहिरियो । खेलमा सुस्त सुरुआतपछि अन्त्यतिर केही रोमाञ्चकता उत्पन्न भएको थियो ।
भारतले पनि पहिलो हाफमा कुनै गतिलो आक्रमण बुन्न सकेन् । भारतीय कप्तान सुनिल क्षेत्र नेपाली रक्षापंक्तिको घेरामा रहे र उनी प्रभावशाली प्रदर्शन गर्न असफल रहे । नेपालले गोलपछि केही छरितो खेल प्रदर्शन गरेको थियो । दोस्रो हाफमा सुनिलले केही खुलेर खेले र आफ्नो टिमको बराबरी गोलमा सहयोगी भूमिका निभाए ।
भारतले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो । सुनिलले सुरुमा गरेको शक्तिशाली प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाए पनि त्यसमा राम्रोसँग क्लियर गर्न सकेनन् र त्यसमै अनिरुद्धले ६० औं मिनेटमा गोल गरे ।
दोस्रो हाफमा दुवै टिमले उल्लेखनीय निर्णायक अवसर सिर्जना गर्न असफल रहे, यद्यपि पहिलो हाफको तुलनामा दोस्रो हाफ रोमाञ्चक थियो ।
यही खेलका क्रममा नेपाली कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नेपालका लागि सर्वाधिक खेल खेलेको कीर्तिमानमा विराज महर्जनको बराबरी गरेका छन् ।
ु दुवैले नेपालका लागि ७३ क्याप जितेका छन् । नेपालले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा दशरथ रंगशाला खेलेको यो नै पहिलो खेल हो । भारतले दशरथ रंगशालामा खेलेको यो नै पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हो । यसअघि दुई छिमेकी देशबीच भारतमा तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भइसकेका छन् । अब दोस्रो खेल आइतबार हुनेछ । कान्तिपुरबाट साभार ।