स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत पहिरो प्रभावित ६ जनाको परिवारलाई नगरपालिकाले जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । गतबर्षको पहिरोबाट घर भत्किएपछि अन्यत्रै स्थानान्तरण भएका वालिङ–८ दमैडाँडाका स्थानीयलाई घर निर्माणका लागि आइतबार एक कार्यक्रबीच नगरप्रमुख दिलिपप्रताप खाँडले लालपूर्जा हस्तान्तण गरेका हुन् ।
दमैडाँडाका टीकामाया दर्जी, डोलमाया दर्जी, कृष्णबहादुर दर्जी, सूर्यबहादुर दर्जी, प्रदीप दर्जी र हरिबहादुर नेपालीलाई जग्गा हस्तान्तरण गरिएको हो । सो स्थानको सिंगो बस्ती नै पहिरोका कारण भाँसिएको थियो । जमिन धुजैधुजा हुने गरि चिरिएको थियो । प्राविधिकले अनुगमन गरेपछि उक्त ठाउँमा बस्न उपयुक्त नभएको बताएपछि नगरपालिकाले अन्यत्रै सुरक्षित स्थानमा लगेर राखेको थियो । जग्गाको खोजी गरेसंगै जग्गा प्राप्ति भएको नगरप्रमुखले बताए । ‘उहाँहरु बस्दै आउनुभएको बस्ती नजिकै स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरीद गरी जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेका छौ’ उनले भने, ‘जग्गा प्राप्तिसँगै अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्छौं र सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौं ।’ जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने नगरप्रमुख खाँणले बताएका छन् ।
मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले नगरबासीको सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी कार्य जारी रहेको उनले बताए । ‘वडा नं. ८ मा रहेको दमैडाँडाको बस्ती स्थानान्तरणका लागि जग्गा प्राप्ति भयो’ उनले थपे, ‘अव त्यस ठाउ“मा आवश्यक प्रक्रिया पूरा गरी एउटै प्रकृतिको आवास निर्माण थाल्छौं । जग्गा प्राप्ति नभएका अन्य बस्ती स्थानान्तरणका लागि जग्गा खोजी कार्यलाई तिब्रता दिंदै यसैवर्ष सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्छौं ।’ गतवर्षसम्मको मनसुनजन्य विपदका कारण प्रभावित हुने घरपरिवार नगरपालिकाभित्र ४० भन्दा बढी रहेका छन् । ६ घर परिवारलाई प्रतिघर करीब ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको वडा नं. ८ का वडाध्यक्ष कमलप्रसाद सुबेदीले बताए । सुबेदीका अनुसार उक्त जग्गा खरीद तथा पास गर्दा १४ लाख ४० हजार खर्च भएको छ । ‘भिरालो पाखामा रहेको उक्त दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको थियो’ सुबेदीले भने, ‘प्राविधिक दृष्टिले बस्न जोखिम र अयोग्य भएकाले बस्ती स्थानान्तरणको विकल्प नभएपछि जग्गा प्राप्तिका लागि जग्गा खोजी कार्य अगाडि बढायौं । फलस्वरुप जग्गा प्राप्ति भएको छ, अब निर्माण थाल्छौंं ।’
गतवर्ष वर्षायामका समयमा छ घर परिवारका ३५ जनालाई उक्त बस्तीलाई नजिकैको सामुदायिक विद्यालयमा राखिएको थियो । पानी पर्नासाथै त्रासमा रहेको यो बस्ती सुरक्षित स्थानमा स्थानान्तरण हुने पाउने भएपछि खुशी लागेको स्थानीय बृद्धा टीकामाया दर्जीले बताउछिन् । ‘पानी पर्दा घरमा सुत्नै डर लाउँछ, कतिबेला के हुने हो भन्ने चिन्ताले सताउने गर्छ’ दर्जीले भनिन्, ‘वडा र नगरपालिकाका जनप्रतिनिधिको निरन्तरको खटाई र चासोले गर्दा अब हामी सुरक्षित ठाउँमा बस्न पाउने भएका छौ । निकै खुशी लागेको छ । अव अल्पायुमै मर्नु पर्दैन की जसे भएको छ ।’ ज्याला मजदूरीमा आश्रित सो बस्तीका नागरिकले घर निर्माण कार्य छिट्टै थाल्न अनुरोध गर्दै आँफूहरु स्वंमले घर निर्माणमा काम गर्ने जनाएका छन् । ‘हामीसंग पैसा र घर बनाउने जग्गा नभएर वेवारिसे बनेका थियौ’ उनले भनिन्, ‘मजदुरको भने समस्या छैन् । हामी आफै पनि दुख गर्न सक्छौ ।’ उनले गाउँका सवैको श्रम सहयोगमा छिट्टै नै घर निर्माण गर्ने बताइन् ।