प्रचण्ड किन गए गोरखा–२ ?

Share this post :

Facebook
Twitter
WhatsApp

मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन् । २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन् ।
गठबन्धनका दलबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए । पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर रोजेका छन् ।
२०६४ को निर्वाचनदेखि ३ पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गरेका प्रचण्डले कुनै पनि क्षेत्र दोहो¥याएका छैनन् । २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट विजयी भएका थिए । तर, २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोजेका थिए ।
२०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोजेका थिए । चितवन–३ बाट भारी मतले विजयी भएका उनले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले जितेको छ, जहाँ महानगरको अधिकांश भूभाग प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्दछ । तर, जीत सुनिश्चित हुँदाहुँदै पनि उनले अन्तिममा चितवन छोडेर गोरखा रोजेका छन् । नेपालका शीर्ष नेतामध्ये प्रचण्ड भावुक स्वाभावका नेता मानिन्छन् । १० वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गरेका उनले जनताका हजारौं छोराछोरीको बलिदानीकै कारण देशमा संघीय गणतन्त्र आएको भन्दै बलिदानीको उच्च सम्मान हुनुपर्नेमा जोड दिँदै आएका छन् ।
गोरखा पनि त्यस्तो जिल्ला हो, जहाँ प्रचण्डले स्वयंले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गरेका थिए । जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष अनुराग रहेको मानिन्छ । जनयुद्धको क्रममा सबैभन्दा पहिला मारिने दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ । २०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई निर्वाचित भएका थिए । भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राखेका थिए । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो । तर, डा भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लागेका हुन् ।
प्रचण्ड राष्ट्रिय नेता भएकाले सधैं एउटै क्षेत्रबाट चुनाव लड्न नहुने अभिमत माओवादीभित्र बलियो देखिन्छ । पछिल्लो ५ वर्षमा चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले प्रत्येकपटकको निर्वाचनमा अलग अलग ठाउँबाट चुनाव लडेर सबै क्षेत्रहरूलाई समान दृष्टिले हेर्ने सन्देश दिनुपर्ने मान्यताअनुसार उनी गोरखा–२ बाट लड्न लागेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो । गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने नेताहरू बताउँछन् । स्थायी समितिका अधिकांश नेताहरूले गोरखा–२ बाट चुनाव लडेर देशभरिको चुनावी कमाण्ड गर्नु राम्रो हुने सुझाव दिएपछि अन्ततः उनले गोरखा–२ रोजेका हुन् ।
भीमोदय माविको शिक्षक, जनयुद्धको कमाण्डर र प्रतिनिधिसभा सदस्यको उम्मेदवार प्रचण्ड गोरखामा
आगामी मंसिर ४ गते देशैभर एकै चरणमा संघिय र प्रादेशिक निर्वाचन हुन गइरहेको छ । निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्दै छन् । प्रचण्ड माओवादी केन्द्रका मात्रै होइन प्रचण्ड नेपाल राष्ट्रका नेता हुन् । नेपालको इतिहासमा सबैभन्दा लामो शसश्त्र जनयुद्वमार्फत २४० वर्षे सामन्ती एकात्मक राजतन्त्रको अन्त्य गरि नेपालमा गणतन्त्र स्थापना गर्न सफल प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पिता हुन् । त्यतिमात्र होइन २०६३ सालमा प्रचण्डकै शुरू भएको शान्ति प्रक्रियाको एकमात्र जिवित हस्ताक्षरकर्ता पनि प्रचण्ड हुन् । प्रचण्डकै नेतृत्वमा शान्ति प्रक्रिया विश्वकै नमुना बन्दै अगाडि बढिरहेको छ र निश्कर्षमा पुग्दैछ । त्यसैले प्रचण्ड क्रान्ति र शान्तिका नेतृत्वकर्ता र प्रतिक हुन् । प्रचण्ड नेपाली जनताका अभिभावक हुन् । उनले नेपाली जनताको चाहना अनुरूप सशस्त्र जनयुद्धमा पनि पटक पटक एकतर्फी युद्वविराम गरि शान्तिमा रूपान्तरण गरेका हुन् । प्रचण्डकै नेतृत्वमा जनयुद्धले समावेशी, सामाजिक न्यायसहितको समतामुलक समाजको चित्र कोरेको थियो । प्रचण्डले हिमाल पहाड र तराईका आदिवासी जनजाति र लिंगिय, जातिय, क्षेत्रीय उत्पीडनमा पारिएका सबै नेपाली जनताको पक्षमा लगातार आवाज उठाए, उनीहरूको अधिकार सुनिश्चित हुनेगरी संविधानसभाबाट संविधान निर्माण गरे र नयाँ नेपालको निर्माण गरे । आफ्नो नीजि पारिवारिक जिवनलाई तिलाञ्जली दिंदै राष्ट्र र जनताको पक्षमा जे गर्दा हित हुन्छ त्यही गर्न प्रचण्ड तयार भए । राजनीतिक रूपमा, कुटनैतिक रूपमा प्रचण्डले हरेक पटक साहसिक र दुरगामी महत्त्वका निर्णय गर्दै आएका छन् । त्यसैले प्रचण्ड गतिशिल र डाइनामिक नेता हुन् । प्रचण्ड नेपाल र नेपालीका साझा प्रतिनिधि हुन् ।
प्रचण्डको निर्वाचन क्षेत्र
अध्यक्ष प्रचण्डले पहिलो संविधानसभाको निर्वाचन २०६४ मा जनक्रान्तिको केन्द्र रोल्पा र देशको राजधानी काठमाडौंबाट प्रतिनिधित्व गरे । त्यसले जनयुद्व र जनआन्दोलनको फ्युजन गर्ने मात्रै होइन जनयुद्ध र जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न भुमिका खेल्यो । अध्यक्ष प्रचण्डले दोश्रो संविधानसभा निर्वाचन २०७० मा जनविद्रोह र मधेशविद्रोहको केन्द्र मधेसको सिराहाबाट प्रतिनिधित्व गरे । जसले मधेसीलाई दोश्रो दर्जाको नागरिक बनाउने र मधेसलाई राष्ट्र नमान्ने प्रवृत्ति परास्त गर्न र मधेस र मधेसी जनसमुदायलाई सम्मानित नागरिक र नेपालको महत्त्वपूर्ण भुभागको रूपमा परिचित गराउन भुमिका खेल्यो । अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको लागि भएको पहिलो आम निर्वाचनमा आफ्नो गृह जिल्ला चितवनबाट प्रतिनिधित्व गरे । जसले चितवनलाई भौगोलिक रूपमा मात्रै नभई विकास र समृद्विको हिसावले पनि अब्बल सावित गर्न भुमिका खेल्यो । चितवनलाई साच्चिकै उन्नत, भ्रष्टाचार मुक्त र विकसित शहर बनाउने प्रचण्डले शुरू गरेको योजनाले सार्थकता पाउँदैछ । अध्यक्ष प्रचण्ड संसदवादी नेतृत्वले झैं एउटै निर्वाचन क्षेत्र समातेर कहिल्यै बसेनन् । बरु उनले देशका विभिन्न निर्वाचन क्षेत्रमा गएर त्यहाँका जनताको भावना, मनोविज्ञान, आन्दोलन, विकास र समृद्धिसँग सहकार्य गरे । अहिले अध्यक्ष प्रचण्ड नेपाल राज्य निर्माणको अभियान शुरूवातको ऐतिहासिक भूमि, नेपाली जनक्रान्तिको आधारभुमी, माओवादी आन्दोलनको बलियो किल्लाको रुपमा रहेको गोरखामा निर्वाचन लड्दै छन् । प्रचण्ड जहाँ पुग्छन् त्यहाँ शान्ति, विकास र समृद्धिका ढोका खुलिरहेका छन् । गोरखाली जनता, तिनका प्रतिनिधिहरु र गठबन्धनका सहयात्री दलहरुले आफ्नो प्रतिनिधिको रुपमा सहभागीता जनाउन गरेको आग्रहलाई स्विकार्दै प्रचण्ड आगामी चुनावमा गोरखाको प्रतिनिधिसभाका दुई क्षेत्र मध्ये क्षेत्र नं २ बाट उठ्दैछन् । उनलाई प्रतिनिधिसभामा
विजयी बनाउन गोरखाली मतदाता आतुर देखिएका छन् ।
कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डले १७ बर्षको उमेरमा २०२८ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । तर त्यतिवेला प्रचण्डको बाहिरी परिचय कृषि बिषय पढाउने शिक्षक थियो । शिक्षक पेशासँगै राजनीतिलाई गोरखाबाटै अगाडि बढाएका प्रचण्ड भूमिगत हुनु अघि भीमोदय माविमा पढाउँथे ।
सो स्कूलमा बिज्ञान, गणित र अंग्रेजी बिषय पनि पढाएको अनुभव छ । कम्पोष्ट मलको खाडल र चर्पी बनाउन सिकाउने भन्दै गाउँ प्रवेश गरी प्रचण्डले गाउँका किसानहरुका वीचमा राजनीतिक चेतना जगाएका थिए । गोरखामा पढाउँदा पढाउँदै प्रचण्ड शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । राष्ट्रको अभिभावक अध्यक्ष कमरेड प्रचण्डलाई ऐतिहासिक जिल्ला गोरखा र गोरखाली जनताको तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा विजय गराउँ । प्रचण्डको नेतृत्वमा गोरखामा शान्ति, विकास र समृद्धिको ढोका खोलौं । भौगोलिक एकीकरण, देशकै पहिला सहिद लखन थापा, जनयुद्धको पहिलो शहादत दिल बहादुर रम्तेल, महिलाद्वारा गरिएको पहिलो जेलब्रेक लगायतका विभिन्न विरासतहरूको जिल्ला गोरखालाई फेरि एकपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित गर्ने भुमिकाबाट नचुकौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *