गण्डकी प्रदेशसभा अन्तर्गत राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेकी छन् । वर्तमान सरकार संघीयता विरोधी रहेको बताउदै उनले जनता र राष्ट्रियताको पक्षमा काम गर्न नसकेको आरोप लगाइन् । ‘स्थानीय तहलाई बलियो बनाएर प्रदेश संरचना हटाउनुपर्छ’ उनले भनिन, ‘अनावश्यक रुपमा आर्थिक भार थपिएको छ ।’
संघीय सरकारले शनिवार ल्याएको बजेटमाथी व्याख्या गर्दै उनले सरकारले प्रदेशको संरचनालाई नहेरेको बताएकी छन् । प्रदेश संरचनाको आवश्यक नरहेको बताउदै खारेज गर्नुपर्ने माग राखेकी थिइन् । आइतबार बसेको गण्डकी प्रदेशसभाको आठौ अर्थात बर्खे अधिवेशनको वैठकमा उनले केही दिनअघि ल्याइएको नागरिकता विधेयकको पनि खुलेर विरोध गरिन् । उनले सरकारले ल्याएको बजेट पनि संघियता विपरीत रहेको बताएकी छन् । ‘बजेट, नागरिकता विधेयक सत्तासंग सौदाबाजी गरिएको छ’ उनले भनिन, ‘वेसहारा बालबालिका, एकल महिलाको लागि पनि नागरिकता दिन उपाय निकाल्न सकिन्थ्यो । अहिले सत्ता टिकाउनको लागि यस्ता खेल खेलिएको छ । अध्यादेशबाट ल्याइएको विधेयक, बजेट कति उपयुक्त छ ? सोच्नुपर्ने बेला भएको छ ।’ यस्तै, प्रदेश सरकारले पनि सत्ता टिकाउनको लागि मन्त्रालय विस्तार गरेको बताउदै उनले चुनावमा खर्च गर्ने रकम जनतालाई बचाउनतर्फ लाग्न अनुरोध गरिन् ।
यस्तै, माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको स्थिति सामान्य नरहेको बताउदै सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताए । ‘सडक, मोटरेबलपुल, झोलुङ्गेपुल, खानेपानीका धारा बजेटले समेट्नुपथ्र्यो’ उनले भने, ‘बजेट हेर्दा त्यो देखिदैन । धेरै बजेट केन्द्रमै केन्द्रित छ ।’ वर्तमान सरकार संघीयता विरोधी भएकाले प्रदेशलाई प्रदेश भन्न नसक्ने उनको भनाई थियो । कोभिड–१९ र केन्द्रिय राजनीति संकटमा अहिले मुलुक रहेको बताउदै उनले ७२ बर्षसम्म रगत, पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत तोड्ने काम भएको बताएका थिए । गण्डकीमा मुख्यमन्त्रीले सर्वदलीय सरकार आह्वान गरेको सुचना पाएको बताएका चुमानले विकल्पमा सर्वदलीय सरकार गठन गर्नुपर्ने बताएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बालुवाटार काण्डमा मुछिएका व्यक्तिले ल्याएको बजेट चुनाव लक्षित रहेको बताए । यो बजेट नभई झुटको खेती रहेको बताउदै उनले काम चलाउ सरकारको काम चलाउ बजेट रहेको बताएका थिए । ‘काम चलाउ सरकारले पुर्ण बजेट ल्याउन सक्दैन’ उनले भने, ‘पूर्ण बजेट ल्याउनु संविधान विपरीत छ ।’ उनले राष्ट्रिय राजनीतिको प्रभाव प्रदेशमा पनि परेको बताउदै गण्डकीमा रहेको अल्पमतको सरकारले विश्वासको मत नलिई बजेट ल्याउन नसक्ने बताए ।
नेपालीले प्रदेश प्रमुख सीता पौडेल पद र मर्यादामा रहन नसक्ने आरोप लगाएका थिए । नेपाली राजनीतिमा बलिदान दिएका अमिक शेरचनलाई हटाएर प्रदेश प्रमुखमा पौडेल ल्याउनु राजनीति पूर्वाग्रह रहेको उनले बताए । ‘गठबन्धनको सरकार बन्छ भनेर प्रदेश प्रमुख हटाइयो’ उनले भने, ‘चार दलको बहुमतको समर्थनलाई लत्ताएर अल्मतको सरकार गठन गरियो । हामी दलका नेता, सांसद प्रदेश प्रमुखकोमा पुग्दा हामीप्रतिको व्यवहार नै फरक थियो । यसबाट पनि थाहा हुन्छ की प्रदेश प्रमुखको राजनीतिक लुप्तता ।’ संसदमा नेताहरुले गण्डकीको सवैभन्दा ठूलो अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन नपाएर सुत्केरीसहित ८ जनाको मृत्यु हुन दुखद रहेको बताएका थिए । छानविन समिति गठन गर्दै सरकारले यस घटनामा माफी माग्नुपर्ने उनीहरुको भनाई थियो । जसपाका हरिशरण अचार्यले बयलगाडा चढेर अमेरिका जान सकिदैन भन्दै संघीयताको विरोध गर्ने व्यक्तिलाई अहिले कुर्चि पियारो भएको बताएका थिए । ‘जनताले लडेर ल्याएको संसद पटकपटक विघटन गर्दै कुर्चिमा बस्ने अधिकार छैन’ उनले भने, ‘तीन बर्षको अवधिमा नेपाल एसियाके भ्रष्ट मुलुकमध्ये पहिलोमा परेको छ । यो कसका कारण हो ?’ उनले स्वास्थ्यमा बढी माफियातन्त्र रहेको बताउदै कुर्ची बचाउनको लागि कुर्चीदेखी कुर्चीसम्मको बजेट ल्याएको बताए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरामी भएका कारण संसदमा उपस्थित थिएनन् । सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश सरकार अहिलेसम्म समन्वय र सहकार्यमा नै अगाडी बढेको बताउदै आगामी दिनमा पनि सहकार्यबाटै अगाडी बढ्न चाहेको बताएका थिए । केन्द्रीय सरकारको बढी आलोचना भएपनि प्रदेश सरकारको बढी आलोचना नभएको बताउदै उनले भने, ‘प्रदेशले राम्रो काम गरेको छ । विरोध पनि कसरी गर्नु ?’ उनले गण्डकी अस्पतालको यर्थाथ फरक रहेको भन्दै अक्सिजनका कारण मृत्यु नभएको दावी गरे ।