स्याङ्जाको फेदीखोला हुदै मट्टीखान र प्रदेश राजधानी पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न हुने हो भने स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का विनय गुरुङको घरमा उत्पादन गरेको तरकारीले सहजै बजार पाउने थियो । उनको घर नजिकैबाट सवारी साधन ओहोर–दोहोर गर्थे । जसका कारण विरामी परेमा गाउँलेले सहजै स्वास्थ्य उपचार पाउन सक्थे ।
यस्तै, सोही ठाउँका मनबहादुर विकको पनि एउटै चाहाना छ, गाउँको बाटो छिट्टो बनिदियोस । विगत ६ बर्षदेखी सडक लथालिङ्ग हुदाँ यहाँका स्थानीयलाई सडक बन्छ भन्नेमा अव विश्वास नै छैन् । भन्छन, ‘यसबर्ष त सडक बन्छ भनिन्छ तर, बन्ने कहिलै होइन् । हिउँदमा धुलो र बर्खामा हिलो हाम्रो भाग्यमा कहिलै हट्ने भएन ।’ उनले सडककै कारण जोखिम समेत निम्तिएको बताए । रामदी–मट्टीखान हुदै फेदीखोला जोड्ने सडक २०७३ मा निर्माण थालिएको थियो । संघीय सरकारले निर्माण थालेको उक्त योजना लामोसमयदेखी अलपत्र परेपछि २०७७ मा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । योजनाको जिम्मेवार प्रदेशलाई हस्तान्तरण गरिएको भएपनि बजेट अभावका कारण अहिलेसम्म अलपत्र छ । यसो त, काम गर्ने कामदार पनि छैनन् ।
जिल्ला पूर्वाधार विकास कार्यालय कास्कीले यस सडकको प्रत्यक्ष रेखदेख गर्दै आएको छ । कार्यालय प्रमुख इन्जिनियर दिनेश घिमिरेका अनुसार सडकको भौतिक प्रगति हालसम्म ४० प्रतिशत रहेको छ । ‘यसबर्ष पनि बजेट छैन’ उनले भने, ‘बजेट अभावकै कारण सडक अलपत्र परेको हो ।’ उनले बजेट अभावका बावजुद सरकारले कोरोनाको समय दिदै योजना निर्माणको मिति सार्दिदै गर्दा यस्ता अधिकांश योजना अलपत्र परेको बताए । कार्यालयका अनुसार कास्कीको ठूलो मध्येका सडकमध्ये यो एक हो । यदी यो सडक निर्माण हुने हो भने, कास्की र स्याङ्जा दुई जिल्लाका जनता प्रत्यक्ष लाभान्वित हुने कार्यालयले जनाएको छ । सडककै कारण गाउँमा उत्पादित कृषिजन्य वस्तुले सहजै बजार पाउने थियो । यहाँका विद्यार्थी सहजै विद्यालय र क्याम्पस जान सक्थे भने, कर्मचारी पनि घरबाटै कार्यालय ओहोरदोहोर गर्न सक्थे । ‘सडककै कारण घर आउन मन लाग्दैन, पोखरामा डेरा लिनुपर्छ’ विनयले भने, ‘यदी सडक बन्ने हो भने पोखरा र घर सहजै आउजाउ गर्न सकिन्छ । छिटो पनि हुन्छ । यदी आवश्यक परेर बजारमै डेरा लिएपनि घरकै उत्पादनले छाक टथ्र्यो ।’ उनले घरको उत्पादित वस्तु बजार लगेर खानसमेत सक्ने अवस्था नरहेको बताए । ‘भन्दा र हेर्दा जति सहज छ, व्यवहारमा त्यति नै अप्ठ्यारो छ’ उनले थपे ।
पोखराको लेखनाथस्थित स्याङखुदी–आनन्द–ज्योति सडक पनि २०७३ सालदेखी नै अलपत्र छ । संघीय सरकारले निर्माण थालेको सडकको काम अहिले पनि अलपत्र रहेको पूर्वाधार कार्यालयले जनाएको छ । यस सडकको निर्माण कार्य सम्पन्न भएमा ५० घरका ३ सय जनसंख्या लाभान्वित हुनेछन् । तर, सडक विगतदेखी अलपत्र हुदा यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन् । हालसम्म यस सडकको भौतिक प्रगति ३५ प्रतिशत मात्रै भएको छ । ‘यी दुवै सडक २०७३ मा ठेक्का लागेका हुन्’ प्रमुख घिमिरेले भने, ‘२०७५ मा सक्नुपर्ने सडक हुन् । तर, संघीय सरकारका यस्ता हजारौ योजना अलपत्र छन् । जसमध्ये यी पनि पर्छन् ।’ चालु बर्षमा यी दुई सडक निर्माणको लागि २ करोड रुपैया“ मात्रै विनियोजन भएको उनले बताए । ‘दुईवटै सडकको निर्माण कार्य सम्पन्न गर्न हामीलाई २२ करोड आवश्यक पर्छ’ उनले भने, ‘बजेट ल्याउनुपूर्व हामीले प्रदेश सरकारलाई आवश्यक बजेट जानकारी गराएका पनि थियौ तर, बजेट आएन । यति थोरै रकमले कति नै काम गर्न सकिन्छ र ? ठेकेदार पनि कम रकम भएपनि काम यत्तिकै राखेर ठूलो रकम भएका योजनालाई समय दिन्छन् । अहिले त झन् कोरोनाका कारण कामदार पनि छैनन् । योजना बजेट र कामदारका कारण ठप्प जस्तै छन् ।’ उनले सरकारले बजेट पनि नदिने र समयको म्याद थप गरिदिने भएकाले योजना अलपत्र परेको बताए । सरकारले माग बमोजिम बजेट दिए उक्त सडक अलपत्र नपर्ने कार्यालयले जनाएको छ । स्याङखुदीको ४ किलोमिटर सडक निर्माण गर्न लागिएको हो । संघीय सरकारले पहिलोपटक यी सडकको लागि ३०÷३० लाख रुपैयाँ दिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संघीय सरकारले प्रदेशलाई योजना हस्तान्तरण गरेपनि बजेट पनि नदिएका कारण निर्माणको कार्य अगाडी बढ्न नसकेको हो । यसो त, प्रदेश सरकारले यस्ता क्रमागत योजनामा समेत बजेट कटौती गरेको घिमिरेले बताए ।
स्याङ्जा र प्रदेश राजधानी पोखरा जोड्ने रामदी–मट्टीखान सडक । २०७३ मा निर्माण कार्य सुरु गरिएको उक्त सडक हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन् । २०७५ मा सम्पन्न गर्नुपर्ने उक्त सडकको हालसम्म ४० प्रतिशत निर्माण कार्य भएको छ । बजेट र कामदार अभावका कारण यसबर्ष पनि उक्त सडक अलपत्र अवस्थामा रहेको छ ।