‘बाँझो जग्गामा खेती गरेबापत प्रतिरोपनी दुईहजार अनुदान’

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्क छेलोहाल्नेकी सीता सुनारले दुईबर्ष भन्दा पहिलेदेखी नै बाँझो रहेको १५ रोपनी जग्गामा खेतीपाती गर्न थालेकी छन् । अर्काको घरमा काम गरेर जिविकोपार्जन गर्दै आएको उनको परिवारले उक्त जग्गा भाडामा लिई खेती गर्न थालेको हो ।

‘गाउँपालिकाले बाँझो रहेको जग्गामा खेतीपाती लगाए अनुदान दिने व्यवस्था ल्यायो’ उनले भनिन, ‘बाँझो रहेको अर्केको जग्गा भाँडामा लिएर खेती लगाउन सुरु गरेकी हुँ । १५ रोपनी जग्गा भाडामा लिएकी थिए गाउँपालिकाले ३७ हजार ५ सय रुपैया अनुदान दिएको छ । उत्पादन भएको वस्तुको पनि आफैले बजार व्यवस्थापन गर्ने भएपछि काम गर्न उत्साह जागेको हो ।’

गापाले बाँझो रहेको जमिनलाई सदुपयोग गर्ने लक्ष्य अनुसार खेतीपाती गरेबापत अनुदान दिने व्यवस्था ल्याएको छ । २ बर्षअघिदेखी बाँझो रहेको जमिनमा काम गरे प्रतिरोपनी २ हजार रुपैयाको दरले अनुदान दिइएको गापाले जनाएको छ । गापाद्धारा बाँझो रहेको १७ सय रोपनीमा खेती लगाउन १७ लाख रुपैया अनुदान दिइएको गापा अध्यक्ष घनश्याम सुवेदीले बताए । उनका अनुसार ३ सय २४ जना यसमा आवद्ध छन् । बाँझो खेतबारीमा काम गरेबापत नगद प्रोत्साहन अनुदान सम्बन्धी कार्यविधि निर्माण गरेर लागु गरिएको अध्यक्ष सुवेदीले बताए । चालु बर्षमा पनि गापाले क्रमागत योजनाको लागि १० लाख रुपैया बजेट विनियोजन गरेको बताएको छ । यो कार्यक्रममा बढी महिला सहभागी छन । २ सय महिला यसमा आवद्ध भएको गापाले जनाएको छ ।

फेदीखोला–४ कै मोतीप्रसाद पौडेलले आफ्नै बाँझो रहेको १० रोपनी जग्गामा पुन खेती लगाउन सुरु गरेका छन् । उनले गापाबाट २० हजार रुपैयासमेत अनुदान लिएका छन् । भन्छन, ‘आफ्नो जग्गामा आफैले खेती गर्नुपर्ने हो । हामीले जग्गा भएर पनि बाँझो राखेका थियौ । गापाले नयाँ कार्यक्रम पनि ल्यायो । लकडाउनले खेती गर्नुपर्छ भनेर हाम्रो आँखा खोलिदिएको छ ।’ अनुदानको लागि पनि खेती गरिएको उनले बताए । यसैगरी, सोही ठाउँका बाबुराम रिजालले पनि १२ रोपनी जग्गा भाडामा लिई ३० हजार रुपैया अनुदान लिएका छन् । फेदीखोला–२ की चन्द्रकला सुवेदीले १० रोपनी जग्गामा खेती लगाउन सुरु गरेबापत गापाबाट २० हजार रुपैया अनुदान लिएकी छन् ।

गापाले आफ्नै जग्गामा खेती लगाए प्रतिरोपनी २ हजार रुपैया र अर्काको जग्गा भाँडामा लिएर खेती गरेबापत प्रतिरोपनी २५ सय रुपैया अनुदान दिने व्यवस्था गरेको गापा अध्यक्ष सुवेदी बताउँछन् । विशेषगरी बाँझो रहेको सो जमिनमा धान, कोदो र तरकारी लगाइएको छ । गापाका अनुसार भाँडामा जमिन लिएर खेती गर्नेको संख्या बढी छ ।
अध्यक्ष सुवेदी भन्छन, ‘लकडाउनले गर्दा धेरै मानिस वेरोजगारी भए । काम गर्ने आधार भएन । विदेशबाट फर्किनेको पनि समस्या उस्तै छ । अनि आफै आत्मर्निभर हुनुपर्छ भनेर बाँझो रहेको जमिनमा खेतीपाती गर्ने कार्यक्रम ल्याएका थियौ । लकडाउनको समयमा सुचना प्रकाशित ग¥यौ । धेरैजनाले फर्म भरेपनि । सो अनुसार खेती लगाउन सुरु भएको हो । हामीले अनुदानसंगै प्राविधिक पनि सहयोग गरेका छौ ।’

खेती गर्दै गए पछिसम्म प्राविधिक र कृषि उपकरणको गापाले सहयोग गर्ने जनाएको छ । किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन संकलन केन्द्रमा ल्याएर बेचेबापत १५ प्रतिशत अनुदान गापाले दिनेछ । कृषि एम्बुलेन्समार्फत ढुवानीको व्यवस्था गरिने अध्यक्ष सुवेदीले बताए । उनका अनुसार किसानले उत्पादन गरेको बस्तुको गापाले बजार ग्योण्टी गरेको छ । गापाले यो बर्ष एक घर एक टनेल कार्यक्रममार्फत १२ सय घर निर्माण भएको जनाएको छ । ‘यो कार्यक्रमको मुख्य लक्ष्य भनेको खाद्य संकट टार्ने र आत्मर्निभर बनाउने हो’ उनले भने, ‘हामीले गापाभित्र कति जमिन बाँझो छ ? कति उत्पादन हुन्छ ? विशेषगरी कुन खाद्य वा नगदे वाली उत्पादन हुन्छ र कति खाद्य आयात गर्नुपर्दैन भनेर हिसाव गरेका थियौ ।

१७ सय रोपनीमा उत्पादन भएदेखी ६ करोड बराबरको खाद्य भित्राउन पर्ने रहेनछ ।’ यस कार्यक्रममा गापाभित्रै बसोबास गरेका र विदेशबाट आउनेहरु पनि सहभागी रहेको गापाले बताएको छ । यस कार्यक्रमले आफ्नो जग्गा नभएका र अर्काको घरमा काम गरेर गुजारा चलाउने परिवारलाई ठूलो सहयोग मिलेको गापा अध्यक्ष सुवेदीले बताए । गापाले कोभिड लक्षित युवा उद्यममार्फत एकसय ५० जना युवालाई उद्यममा आवद्ध गराएको छ । विना व्याज विना धितो ५ लाख एउटा समुहलाई लगानी गरेको छ । १२ वटा समुहमा ६० लाख रुपैया अनुदान दिएको गापाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *