बुधबारदेखि वालिङ नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द हुने भएको छ । वालिङ नगरपालिका कोभिड १९ क्राईसिस म्यानेजमेण्ट सेन्टरका अध्यक्ष एवं नगरप्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा मंगलबार बसेको बैठकले विश्वब्यापी महामारीको रुपमा फैलिदै गईरहेको नयाँ भेरियन्ट कोभिड–१९ को संक्रमणको जोखिम वालिङ नगरपालिकामा पनि बढेर गएको हु“दा सोको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै अर्को सूचना नभएसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन कार्य नगरी अनलाईन पठनपाठन विधिलाई सूचारु गर्न पनि बैठकले निर्णय गरेको उनले बताए । बैठकले मेला महोत्सव, सभा समारोह, गोष्ठि, बिबाह, ब्रतबन्ध, अन्येष्टि कार्य जस्ता सामाजिक कार्य, धार्मीक एवं सांस्कृतिक कार्य सञ्चालन गर्दा २५ जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालन गर्न र पार्टी प्यालेस सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिएर मात्रै गर्न पनि अनुरोध गरेको छ ।
कुनैपनि वडामा स्वास्थ्य संवेदनशिलता देखिएमा वडा कार्यसमितिले तत्काल बैठक बसी बचाउ अभियानका लागि आवश्यक निर्णय लिन सक्ने भएकाले सोही अनुरुप नागरिकको स्वास्थ्यप्रति उच्च सतर्कता अपनाउन सिमितिले निर्देशन दिएको छ । यसैगरी बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिलाई दश दिन अनिवार्य होम क्वारेन्टिनमा बस्न र कोभिडको लक्षण देखिएमा एन्टिजिन वा पिसिआर जा“च गर्नुपर्नेमा जोड दिएको छ । जाँचका क्रममा सङ्क्रमण देखिएका ब्यक्तिलाई नगरपालिकाको कोभिड अस्पतालमा या संस्थागत आईसोलेसनमा उपचारको ब्यवस्था गरिने नगरप्रमुख खाँणले बताए । कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै पार्टी प्यालेस, क्लब, जिमखाना, फुटसल, सभा, समारोह, जुलुस तथा मानिसहरुको भीडभाड हुने खेलकुद लगायतका सबै प्रकारका कार्यक्रमहरु बन्द गरिएको प्रमुख खाँणले बताए ।