मन्त्रिपरिषदको पूर्णताअघि सत्ता गठबन्धनको बैठक बस्दै

Share this post :

Facebook
Twitter
WhatsApp

मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । ​ गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले गठबन्धनको बैठक बस्न लागेको हो ।
गठबन्धनमा रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
एकीकृत समाजवादीको बैठक अहिले जारी छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो । त्यसक्रममा काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए ।
गठबन्धनको बैठकपछि आफु निकट नेताहरूसँगको कुराकानीमा पनि अध्यक्ष नेपालले अझै केही कुरा मिल्न बाँकी रहेको बताएका थिए । मन्त्रिपरिषद विस्तार अघि गठबन्धनबीच पुन छलफल गरेर टुङ्गो लाग्ने अध्यक्ष नेपालले निकट नेताहरुलाई भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *