राष्ट्र बैंकले भन्यो, निषेधाज्ञाले अर्थतन्त्र पुन: प्रभावित

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्र सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।
अर्थतन्त्रलाई थप समस्या हुन नदिन कोरोना भाइरसको संक्रमण नियन्त्रणसँगै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नु पर्ने राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकको सर्वेक्षण नतिजा अनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग र व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ ।
गत असारको तुलनामा उद्योग र व्यवसायको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । ‘‘यद्यपी अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग र व्यवसाय पुग्न सकेको देखिँदैन’ अध्ययक्ष प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधि पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ ।’
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले अघिल्लो लकडाउनपछि श्रमिकहरुको तलब तथा ज्यालादरमा वृद्धि भएको देखाएको छ । उता व्यवसाय सञ्चालनको अवस्थामा पनि लकडाउनपछि राम्रो सुधार भएको राष्ट्र बैंकले बताएको छ । प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग र व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग र व्यवसायको उत्पादन र कारोबार बढेको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन र कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१।४ प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन र कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसाय भन्दा कम हो ।
यसैगरी अध्ययन प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग र व्यवसायको औसत तलब, ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ं.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८ं.५ प्रतिशत पुगेको देखिएको छ ।
२०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग र व्यवसायको औसत तलब, ज्याला खर्च बढेको पाइएको छ भने विद्युत, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग र व्यवसायहरुको औसत तलब, ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।
यसअघि गत असारमा राष्ट्र बैंकले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका विषयमा अध्ययन प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनको फलोअपका रुपमा राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्ता मार्फत यो सर्वेक्षण गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत असारमा सहभागी ६७४ उत्तरदाता मध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी र व्यवसायीले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् । उद्योगी र व्यवसायीलाई सोधिएको प्रश्नावलीमा कोभिड–१९ महामारीका कारण बन्दाबन्दी सुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको राष्ट्र बैंकले बताएको छ ।
यस सर्वेक्षणमा यस बैंकद्धारा २०७७ असारमा प्रकाशित “कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन” मा उल्लेख भए अनुसारको औद्योगीक क्षेत्रहरु प्रयोग गरिएको छ । सर्वेक्षणको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय औसत निकाल्ने प्रयोजनका लागि राष्ट्रिय आर्थिक गणना, २०७५ अनुसारको उद्योग र व्यवसाय संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको छ । तर, रोजगारी र तलब, ज्याला सम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा भने राष्ट्रिय आर्थिक गणना, २०७५ मा उल्लिखित क्षेत्रगत रोजगारी संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको राष्ट्र बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *