
दोस्रो लहरमा फैलिएको कोभिड १९ का कारण निषेधाज्ञा गरिएको भएपनि विकास निर्माणका काम भने धमाधम भईरहेका छन् । गण्डकीको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत ठेक्का लागेका अधिकाशं सडक तथा पुलका योजनामा निषेधाज्ञामा पनि निरन्तर काम भइरहेको मन्त्रालयले जनाएको छ ।
जिल्ला पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख लक्ष्मीप्रसाद भण्डारीले नाँगडाँडाबाट सेतीदोभान हुदै कार्कीनेटा जोड्ने सडक, बायाँटारी हुदै उनियाँचौर जोड्ने सडक, दामाचौर हुदै दग्दी जोड्ने सडक र घुम्तीबाट ओरष्टे हुदै चिसापानी जोड्ने सडकको काम तीव्र गतिमा भइरहेको बताए । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत निर्माणाधीन यी सडकको लागि पहिलेकै कामदार रहेको हुदाँ समस्या नभएको उनले बताएका छन् । उनका अनुसार यसबर्ष चारवटै सडकमा ५÷५ करोड रुपैयाँ विनियोजन गरेको छ । उनियाँचौर र चापाकोटको दग्दी सकड क्रंकिट हुन् । बाँकी दुईवटा भने पिच सडक हुन् । पिचको काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।
हरिनास र कालीगण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडकमा पनि पिचको काम भइरहेको कार्यालयले बतायो । निषेधाज्ञा भएपनि जिल्लामा कुनै पनि योजना प्रभावित नभएको भण्डारीले बताएका छन् । ‘सामान ढुवानीमा प्रशासन र प्रहरीले सहजीकरण गरिदिएको छ’ उनले भने, ‘योजनामा कामदारको अभाव छैन । पहिले नै काम गर्न आएका कामदार छन् । लकडाउन भएपनि उनीहरु घर नफर्किएकाले निर्माणको काम रोक्नुपरेको छैन ।’ जिल्ला पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख दिनेश घिमिरेले निषेधाज्ञाले विकास निर्माणको काममा असर नपुगेको बताएका छन् । उनले जेठ २ बाट निषेधाज्ञामा कडाई गरिएको बताउदै यसको प्रत्यक्ष असर विकास निर्माणमा पर्ने बताए ।
‘अहिलेसम्म निरन्तर काम भइरहेको छ’ उनले भने, ‘अव समस्या हुन्छ । जिल्ला प्रशासनले पास नदिने र सामान ढुवानी गर्न नपाएपछि कामदार काम छाड्दै हिडछन् ।’ प्रशासनले रातीको समय सामान ढुवानी गर्न भनेको बताउदै उनले रातको समयमा निर्माण सामाग्रीको पसल बन्द हुने, नदीमा सामान उठाउने मान्छेको अभाव जस्ता समस्याले ठप्प हुने अवस्था आउने बताए ।
अहिले चैतमा आएका कामदारले नै काम गरेको बताउदै उनले लकडाउनका कारण नयाँ कामदार ल्याउन नसकिएको बताए । प्रदेशका एघारवटै जिल्लामा एक निर्वाचन क्षेत्र एक सडक, स्थानीय तहको केन्द्र जोड्ने सडक, मोटरेबल पुल, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम लगायतका योजनाको काम निरन्तर भईरहेका छन् । पूर्वाधार कार्यालय बाग्लुङका प्रमुख शोभियत ढकालले तार लगाउने, वाल चिन्ने जस्ता काममा कामदारको अभाव रहेपनि पिच गर्ने सडकमा समस्या नरहेको बताए । ‘विकास निर्माणको योजनामा प्रत्यक्ष प्रभाव परेको छ, यो समय जसरी काम हुनुपर्ने हो त्यो अनुसार भएको छैन’ ढकालले भने ।
यो विकास निर्माणको काम धमाधम हुने समय हो । वैशाख, जेठ असारका तीन महिनामा योजनाको भौतिक प्रगति देखाउने र बजेट खर्च हुने समय भएपनि निषेधाज्ञाका कारण सो अनुसार काम हुन नसकेको भौतिक मन्त्रालयले जनाएको छ । पूर्वाधार कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बहुबर्षिय र टुक्रे योजनामा समस्या नभएको बताए । ‘बहुबर्षिय योजना रोक्नु हुदैन भन्ने छ’ उनले भने, ‘उपभोक्ताबाट हुने साना योजनाको काम भएको छ । यतिबेला मझौला किसिमका योजना प्रभावित बनेका छन् ।’ काम गर्ने उपकरण ठेक्कामा ल्याउनुपर्ने, आवश्यक अनुसार तत्काल निर्माणधीन सामान किन्नुपर्ने जस्ता योजनामा समस्या रहेको गिरीको भनाई छ ।
यसो त, स्थानीय कामदारलाई पनि तालिम दिदै काममा आवद्द गराएको उनले बताए । ‘यो एउटा सिकाई हो, यसो गर्दा कामदार पनि दक्ष हुने, उनीहरुले गाउँमै रोजगार पाउनेछन्’ उनले भने, ‘योजनाको कामले पनि निरन्तरता पाउने ।’
मुस्ताङमा पनि विकास निर्माणको काम रोकिएको छैन । पूर्वाधार कार्यालयका प्रमुख विष्णु पौडेलले कामकार सवै बाहिरी जिल्लाबाट आउने भएकाले निषेधाज्ञाको समयमा पहिले जस्तै जिल्ला नछाडेकाले योजनाको काम भइरहेको बताए । यसैगरी, नवलपुरमा पनि विकास निर्माणले गति लिएको छ । पूर्वाधारका प्रमुख रविन्द्र तिवारीले ठूलो योजना नरोएिको बताए । उनका अनुसार उपभोक्ताबाट हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनामा केही समस्या रहेको बताए ।
चार जिल्लामा योजनाको काम ठप्प
निषेधाज्ञा लागू भएपनि गण्डकीका चार जिल्लामा विकास निर्माणको काम ठप्प भएको छ । तोकिएका समयमा विकास निर्माणको सामान नपुगेपछि, कामदार एकाएक काम छाडेको पूर्वाधार पर्वतका प्रमुख कृष्ण आचार्यल काम रोकिएको बताए । एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गतका मिलनचोक–सल्यान–ढाइरिङ, दोविल्ला–फलेवास सडक लगायतका ठूला योजना समेत प्रभावित रहेको आचार्यले बताए । ‘कोभिडको कारण प्रत्येक वडा सिल हुन थालेपछि कामदारले एकाएक काम छाडे’ उनले भने, ‘जसले गर्दा पर्वतका साना, ठूला सवै योजना ठप्प छन् ।’ यी दुवै योजना २२÷२२ करोडका हुन् । हिलेखोला–कार्कीेनेटा, कुस्मा–दुर्लुम सडकमा पनि उही समस्या रहेको उनको भनाई छ ।
यसरी नै, गोरखामा पनि अधिकाशं योजना प्रभावित छन् ।
पूर्वाधार प्रमुख दयाराम अधिकारीले जिल्ला प्रशासनले सामान ढुवानीको लागि पास समेत नदिदा योजनाका काम ठप्प राख्नुपरेको बताए । कामदार र सामान हुने केही योजनाको काम भएपनि साना र ठूला भनिएका योजना ठप्प रहेको उनको भनाई छ । उनले २५÷३० करोडका योजनाको भौतिक प्रगति हुने बेलामा ठप्प राख्नुपरेको बताए । ‘बाहिरी कामदार आउन पाएनन’ उनले भने, ‘जिल्लामै भएका कामदार ओहोरदोहोर गर्न पाएनन् । ठेकेदार, मिस्त्री आउजाउ गर्न नपाएपछि योजना प्रभावित बनेका हुन् ।’ यस्तै, मनाङमा पनि योजना प्रभावित बनेका छन् । म्याग्दीमा पनि सवै योजना प्रभावित बनेका छन् ।

म्याग्दीको पूर्वाधार प्रमुख नवराज पौडेलले बहुबर्षिय योजनामा झन् समस्या रहेको बताए । ‘काम गर्न सक्दैनौ भनेर निर्माण व्यवसायीले काम छाडे’ उनले भने, ‘कहिले बजेट नहुदाँ काम छाडेका थिए । बीचमा बल्ल बल्ल कुरा मिलाएर निर्माणको काम सुरु गरेका थियौ फेरि लकडाउनले असर ग¥यो ।’ गतबर्षको बाढी पहिरोले क्षति पु¥याएका योजनाले यतिबेला गति लिएको भएपनि लकडाउनका कारण रोक्नुपरेको उनको भनाई थियो ।