वालिङ नगरपालिकालाई उद्यमीको शहर बनाउने लक्ष्य सहित उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको स्थापना गरिएको छ । वालिङ नगरपालिका परिसरमा स्थापना भएको सेन्टरले उद्यमी बन्न चाहेका तर उचित ज्ञान नभएका युवा तथा उद्यमीहरुलाई सहयोग र सहजीकरण गर्ने बताईएको छ ।
युवा, बिदेशबाट फर्किएका तथा स्वदेशमा नै रहेर उद्यम गर्न चाहाने व्यक्तिहरुको सहयोगी केन्द्रको रुपमा ईबिकको स्थापना गरिएको वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए । उद्यमी वन्न चाहने व्यक्तिको नविनतम सोच तथा विचारहरुलाई व्यवसायीकरण गर्न आवश्यक सीप र ज्ञान प्रदानका लागि ईबिकले सहजीकरण गर्ने उनले बताए । ‘केन्द्रले मेन्टर रोस्टर अर्थात बिज्ञहरुको समूहमार्फत उद्यम गरिरहेका र गर्न चाहेका व्यक्तिलाई सहजीकरण र सहयोग गर्दछ’ उनले भने ।
व्यवसाय शुरु गर्नका लागि अपरिहार्य रहेको संस्था दर्ता प्रक्रिया नविकरण अडिट लगायका कार्यमा उद्यमीहरुलाई कागजी रित पुयाउन यसले महत्वपूर्ण सहयोग गर्नुका साथै उत्पादित बस्तुलाई सहज र व्यवस्थित रुपमा बजारसम्म पुयाउने उपायको खोजीमा समेत सेन्टरले महत्वपूर्ण सहजीकरण गर्ने खाँणले बताए । उद्यमी, सल्लाहकार समिति, व्यवसायी विज्ञ, लगानिकर्ता, वित्तिय सस्था,स्थानीय तह र सरोकारवाला सस्थाको सन्जाल मार्फत नयाँ उद्यम तथा व्यवसाय प्रवद्र्धनका लागि इबिकले सहजिकरण गर्ने युएनडिपीका गण्डकी लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले बताए । नगरपालिकाले लिएको उद्यमीको शहर बनाउने अभियानलाई युएनडिपीले साथ दिएको उनले बताए ।युवाहरुलाई स्थानिय स्तरमा नै स्वोरोजगार हुने वातावरण सिर्जना गरेर युवाहरुको सामाजिक र आर्थिक स्तरमा सुधार ल्याउने यसको मुख्य ध्येय रहेको ईबिक व्यवस्थापन गरिरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् । कहाँ र कुन ठाँउबाट सहजै सेवा, अनुदान, ऋण आदि पाईन्छ भन्ने जानकारी नभएको दुरदराजका कृषक तथा उद्यमीको यो महत्वपूर्ण सारथीको रुपमा ईबिक रहने अध्यक्ष तिवारीले बताइन् । सेन्टरको विहिबार वालिङ नगर प्रमुख दिलिप प्रताप खाँण, युएनडिपीका आवासीय प्रतिनिधि बर्नाड कोको र युएनडिपीका गण्डकी लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले औपचारिक रुपमा शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै युएनडिपीका आवासीय प्रतिनिधी बर्नाड कोकोले वालिङ नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि शुरु गरेको अभियान अरुका लागि समेत उदाहरणीय रहेको बताए ।
परिक्षणका लागि गत सालबाट शुरु गरिएको सेन्टरले १ हजार ३ सय जनालाई सहजीकरण गरिसकेको नगरपालिकाका फोकलपर्सन प्रकाश अर्यालले जानकारी दिए । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीको साझेदारीमा दियालो संस्थाले सञ्चालन गरिरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नयाँ अभियानको रुपमा ईबिक सञ्चालनमा ल्याईएको हो । यसैबीच, वालिङ नगरपालिका र युएनडिपीको साझेदारीमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरिरहेको ‘हरियाली पुनःउत्थान परियोजना अन्तर्गत श्रवणकुमार पार्कमा बृक्षारोपण गरिएको संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङले जनाए ।
