वालिङमा २५६ खरका छाना हटाइए

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत २५६ खरका छाना विस्थापित गरिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाईएको हो ।
वलिङ नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेको थियो । सो अनुसार आव २०७६÷७७ देखि कार्यान्वयनमा आएको यो अभियान अन्तर्गत हालसम्म २५६ खरका छाना हटाएर जस्तापाता लगाईएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । स्वास्थ्यका दृष्टिले जस्तापाता भन्दा खरको छानो उपयुक्त हुँदाहुँदै पनि आगलागीको संभावना, छाना छाउने दक्ष कामदारको अभावका कारण खरका छाना विस्थापित गरिएको उनले बताए ।
‘कतिपय नागरिक खरको छाना फेरेर जस्तापाता लगाउन सक्ने अवस्थामा पनि हुनुहुन्न’ उनले भने, ‘खरका छाना भएका नागरिकलाई समाजमा हेर्ने प्रवृत्ति पनि फरक हुने । जनताकै मागका आधारमा जस्तापाता लगाईदिंदै आएका छौं ।’ छाना विस्थापनका लागि माग भई आएका नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी जस्तापाता वितरण गर्ने र वालिङलाई खरका छानारहित बनाउनका लागि बाँकी रहेका घरलाई यसै वर्षमा सम्पन्न गर्ने गरी अगाडि बढिएको खाँणले बताए । वालिङ नपामा हालसम्म खरको छाना विस्थापनका लागि ४ सय ३१ घरले आवेदन दिएका थिए । जसमध्ये सुरक्षित नागरिक आवासका कार्यक्रमका लागि २ सय ५४ मध्ये २ सय ४० घरधुरीले मात्रै सम्झौता गरेर निर्माण थालेका नपाले जनायो । आवेदन दिएकामध्ये सबै घरले सम्झौता नगरेको बताउदै नपाले दुई किस्तामा गरेर लाभग्राहीलाई ५० हजार उपलब्ध गराउने बतायो । सुरक्षित नागरिक आवासका लागि सम्झौता भएका २४० घरमध्ये हालसम्म १०६ घरले दोस्रो किस्ता निर्माण सकेपछि लगेका छन् । हालसम्म वालिङ नपाबाट १ सय ५० घरले ७५ लाख बराबरको जस्तापाता लगेका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रममार्फत १०६ घरले ५० हजार रकम बुझेको नपाले जनाएको छ । नपामा आवेदन दिएका ४ सय ३१ घरमध्ये १ सय ७५ घर निर्माण हुन बाँकी छन् । प्रतिघरलाई ५० हजारका दरले हालसम्म एक करोड २७ लाख खर्च भएको नगरप्रमुख खाँडले जनाए । नपाले आव ०७६÷७७ बाट शुरुआत गरेको अभियानमा गत आवबाट सुरक्षित नागरिक आवास कार्यक्रममार्फत सहयोग आएको हो । खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस, छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले तयार पारेको लगत ईस्टिमेटका आधारमा जस्तापाता उपलब्ध गराउने प्रक्रिया रहेको छ । १४ वटा वडा रहेको नपाका वडा नं. २ मा ३, ३ मा ४८, ४ मा ५२, ५ मा ३९, ६ मा २१, ७ मा ४८, ८ मा २८, ९ मा ६, १० मा १५, ११ मा ९, १२ मा ५६, १३ मा १७ र १४ मा ८९ घरहरुले खरका छाना विस्थापनका लागि नपामा आवेदन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *