शारिरीक रुपमा अशक्त । राम्रोसंग कान नसुन्ने । आँखा पनि नदेख्ने । प्रष्ट बोल्न नसक्ने वालिङ नगरपालिका–५ पित्लेक कोलपाटाका ४६ बर्षिय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) ११ बर्षको उमेरमा बाबुसंग भारत गएका थिए । गाउँमा अस्पताल नभएकाले स्वास्थ्य उपचार गराउने, उत्तै पढाउने र बुवासंगै रोजगारी गर्ने हेतुले इण्डिया पसेका उनी कामको शिलशिलामा वेपक्ता भए ।
बाबुले गर्ने कम्पनीमै काम गरेका थिए शोभाकान्तले । राम्रो कामको खोजीमा बुवा अन्यत्रै कम्पनीमा रोजगारी गर्न थाले । उनी त्यही कम्पनीमा बसेर काम गरे । करिव दुई महिनापछि बुवा फर्किदा कम्पनीमा न साहु थियो न छोरो (शोभाकान्त) । इण्डियामा बाबुले उनको खोजी धेरै गरे । नेपालमा पनि खोजी भयो । तर, उनी भेटिएनन् । आमा हिमादेवीले भाकल गर्ने, हेराउने काम गरिन् । तर, उनको पत्ता लागेन् । २०३० सालमा जन्मिएका उनी परिवारकै जेठो सन्तान हुन् । २०४१ सालमा ११ बर्षदेखी हराएको हुदाँ परिवारमा भेटिएला भन्ने आश हराइसक्यो । हराएको सयबर्ष नपुगेकाले परिवारले उनको क्रिया भने गरेका थिएनन् ।
वेपत्ता भएको ३५ बर्षपछि लामिछाने घर फर्किएका छन् । उनी विहिबार जन्मघर पित्लेक फर्किएका हुन् । उनलाई परिवार तथा स्थानीय आमा समूहले स्वागत गरेको छ । आफ्नो परिचय र जन्म ठाउँको बारेमा राम्रोसंग परिचय दिन नसक्ने लामिछानेलाई सामाजिक संजाल र समाचारको माध्यमबाट पहिचान गराई परिवारसंग पुनर्मिलन भएको हो । शोभाकान्तका कान्छा भाई रमेशका अनुसार शोभाकान्तले काभ्रेको पनौतिस्थित एक होटलमा २२ बर्षदेखी काम गर्दै आएका रहेछन् । ‘दाई हराउदा त म जन्मिएकै थिइन’ उनले भने, ‘बुवा आमाको कुरा सुनेर ठूलो दाई हराउनुभएको हो रे भन्ने थियो । म परिवारको कान्छो । हराएको दाई जेठो । दाईमुनी हामी ३ दिदीबहिनी र दुईभाई छौ ।’ उनले स्थानीय रेडियो, पत्रिकामा बारम्बार हराएको सुचना प्रकाशित भएपनि हामीहरुसमक्ष जानकारी नहुने बताए ।
शोभाकान्तले बारम्बार म घर जान्छु, मलाई परिवार भेटाइदिनु भन्दै पनौतिका युट्युवरसंग दिनहुँ फोन गर्थे । युट्युवर बुद्धकुमार श्रेष्ठले धेरै प्रचार गर्दा पनि परिवार नभेटाइएपछि अन्तिमपटक नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई फेसबुकमार्फत प्रचारप्रसार गर्न अनुरोध गरे । उपाध्यायले फेसबुकमा राखेपछि परिवारलाई जानकारी भएको रमेश बताउछन् । ‘दाईले घर कुन जिल्ला हो ? कुन प्रदेश हो भन्न नजान्ने’ उनले भने, ‘गाउ“को नाम र वातावरण भने भन्न सक्नुभएछ । उत्पादन के हुन्छ ? स्कुल कुन कहाँ छ र परिवारमा को को थिए भन्न सक्नुभएछ । यसैको आधारमा हामीले पत्ता लगायौ र लिनको लागि काभ्रे गयौ ।’ काभ्रेबाट काठमाण्डौ ल्याई ब्राहमण चलन अनुसार ब्रतबन्ध गरेर घर ल्याइएको भाई रमेशले बताए । अहिले शोभाकान्त बुवाको कृया बसेका छन् । बुवाको २०७४ मा मृत्यु भएको थियो । आमा हिमादेवीले छोरो परिवार र गाउँसंग घुलमिल हुन लागेको बताइन् । ‘फर्किन्छ भन्ने आश पनि थिएन’ उनले भनिन, ‘आश मारिसकेका थियौ । अहिले आफ्नो छोरो काखमा हुदा“ पनि सपना जस्तो भएको छ ।’ ३५ बर्षपछि हिरादेवीका आ“खामा खुशीका आँसु झरेका छन् ।
‘हामीले त बरु नजानेका, दाईको माया पाएनौ । तर, पनि खुशी छौ । हामीभन्दा बढी खुशी आमा हुनुहुन्छ’ रमेशले भने । काभ्रे बनेपास्थित तपाई हाम्रो साप्ताहिकका प्रधानसम्पादक समेत रहेका श्रेष्ठले होटलमा काम गर्दै आएका शोभाकान्तले आफू घर जान चाहेको र त्यसका लागि पहल गरिदिन अनुरोध गरेपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको सहायता लिएको बताए । लामोसमयदेखि विछोडिएको परिवारलाई पुनर्मिलन गराउन पाउँदा आफूलाई निक्कै खुशी लागेको उनले बताए । आमा समूहकी अध्यक्ष समेत रहेकी स्थानीय सुशीला लामिछानेले आश मारिसकेको मान्छे घरमा पाउँदा खुशीको सिमै नरहेको बताइन् । ‘हामीले यस्तरी भेट्छौ र खुशी मनाउछौ सोचेकै थिएनौ’ सुशीलाले भनिन, ‘अव त म¥र्यो होला, नाम निशाना पनि मेटियो होला भनिएको थियो । आज सपना जस्तै भयो ।
फिल्ममा जस्तै भेट्न पायौ ।’
।हराएको ३५ बर्षपछि घर फर्किएका वालिङ नगरपालिका–५ पित्लेकका ४६ बर्षिय शोभाकान्त लामिछानेसंग खुशी साट्दै परिवार । परिवारलाई पुनर्मिलन गराएको समुहसंग परिवारले सामुहिक तस्बिर खिचाउदै । तस्बिर प्रतिपत्र ।