कोरोना भाइरस रोकथाम तथा उपचारको लागि गण्डकी प्रदेश सरकारले एकबर्षमा २७ करोड रुपैयाँ खर्च गरेको छ । कोरोना भाइरस संक्रमण बढेसंगै गण्डकी सरकारले कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार सम्बन्धी राहात कोषको स्थापना गरेको थियो । सो कोषबाट नै फागुन महिनाको अन्तिमसम्म २७ करोड ८ लाख ७३ हजार ३३६ रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गत चैत ११ गतेदेखी लकडाउन सुरु भएपछि सरकारले कोषको स्थापना गरेको थियो । लकडाउन भएको बुधबार एकबर्ष पुगिरहदा सरकारले स्थापना गरेको सो कोषमा ३५ करोड १२ लाख ५० हजार ७९२ रुपैयाँ जम्मा भएको छ । खर्च कटाएर हाल कोषमा ८ करोड ३७ लाख ७ हजार ४५६ रुपैया बचत रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा रामबहादुर केसीले बताए । ‘आइसोलेसन सेन्टर, क्वारेन्टाइनको व्यवस्थापन, किट खरिद र कोरोना परीक्षण मेसिन खरिदमा कोषकै रकम खर्च भएको छ’ उनले भने ।
कोषकै रकमबाट बाग्लुङ र नवलपुरको लागि कोरोना परीक्षण मेसिन खरिद गरिएको डा केसीले जानकारी दिए । प्रदेश सरकारले कोरोना महामारीको बेला ३८ वटा आइसोलेसन सेन्टर बनाएको थियो । विभिन्न जिल्लामा ७ सय ६५ वटा क्वारेन्टाइन निर्माण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन सेन्टर एउटा मात्र छ । ‘पछिल्लोसमय कोरोना परीक्षणको दर पनि घटेको थियो’ केसीले भने, ‘संघीय सरकारले कोरोनाका कारण गम्भिर विरामी भएकालाई मात्र आइसोलेसनमा राख्ने, नत्र सामान्य विरामीलाई घरमा बस्ने निर्णय ग¥यो । सो निर्णय अनुसार आइसोलेसन सेन्टर घटाइएको हो ।’ सरकारले लेखनाथस्थित संक्रमण तथा सरुवा रोग अस्पताललाई आइसोलेसन सेन्टर बनाएको छ । नयाँ निर्माण गरिएको सो अस्पताल ५० शैयांको छ । पिसिआर टेस्टलाई पनि निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।
डा केसी भन्छन, ‘केही दिनअघि पोखरा इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा एकमुष्ठ कोरोना देखिएपछि कोरोना परिक्षण गर्नेको संख्या ह्रवात्तै बढेको छ ।’ रुघाखोकी लागेमा, ज्वरो आएमा कोरोना परीक्षण गराउने, गम्भिर विरामी भएमा आइसोलेसन सेन्टर आउने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने र सामाजिक दुरी कायम राख्ने जस्ता जनचेतनामुलक कार्यक्रम निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ ।
५ अस्पतालमा उच्चस्तरको कक्ष निर्माण
गण्डकी सरकारले विभिन्न ५ अस्पतालमा उच्चस्तरको कक्ष (एचडिओ) को स्थापना गरेको छ । बाग्लुङको धौलागिरी, पोखराको संक्रमण तथा सरुवा रोग अस्पताल, लमजुङ जिल्ला अस्पताल, नवलपुर मध्यविन्दु अस्पताल र गोरखा जिल्ला अस्पतालमा २५÷२५ वेडको उच्चस्तरीय कक्ष हालैमात्र स्थापना गरेको डा केसीले बताए । उनका अनुसार कक्ष निर्माणको लागी संघीय सरकारले १२ करोड रुपैया दिएको छ । उक्त रकम पुरै खर्च भने नभएको उनले बताए ।
विशेषज्ञ नहुदाँ आइसीयुका मेसिन थन्किए
कोरोना भाइरस संक्रमण हुनुभन्दा अघि कुनै पनि अस्पतालमा आइसीयु मेसिन र भेन्टिलेटर जडान गरिएको थिएन । कोरोना महामारीसंगै प्रदेश सरकारले प्रत्येक जिल्लाका अस्पतालमा आइसीयु मेसिन र भेण्टिलेटर जडान गर्ने नीति लियो । मेसिन खरिद गरेर त पठायो तर, मेसिन संचालन गर्ने विशेषज्ञ नहुदा“ यत्तिकै थन्किएका छन् । सामाजिक विकास मन्त्रालयका डा केसीले अस्पतालका कर्मचारीलाई तालिम दिएपनि विशेषज्ञ नहुदा“ यत्तिकै थन्किएको बताए । ‘हामीले विशेषज्ञसहितको स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नुपर्ने माग राख्दै मुख्यमन्त्री कार्यालयमा प्रस्ताव लगेका छौ’ उनले भने, ‘कहिले स्वीकृत हुन्छ थाहा छैन ।’ सरकारले मनाङ र मुस्ताङमा २ वटा भेन्टीलेटरसहितको ३ वेड आइसीयु राख्ने र अन्य जिल्लाका अस्पतालमा ३ वटा भेन्टिलेटरसहित ५ वेडको आइसीयु राख्ने निर्णय गरेको थियो । सो अनुसार सरुवा रोग अस्पतालमा ६ वटा भेन्टिलेटर र ९ वटा आइसीयू बेड रहेका छन् भने, पर्वतमा २ भेन्टिलेटरसहित ५ बेड आइसीयु, धौलागिरी अस्पतालमा २ र ३, वेनी अस्पतालमा २ र ५, मातृशिशु अस्पतालमा २ र ५, दमौली अस्पतालमा ४ र १०, गोरखामा १ र ३, मनाङमा १ र २, मध्यविन्दुमा २ र ५, लमजुङमा २ र ५, स्याङ्जामा २ र ५, मुस्ताङमा १ भेन्टिलेट र २ वटा आइसीयु राखिएको छ । मन्त्रालयका अनुसार मुस्ताङ र स्याङजामा जडानकै क्रममा रहेका छन् भने अन्य जिल्लामा जडान भइरहेको छ ।
तीन अस्पतालमा भएन अक्सिजन प्लाण्ट जडान
प्रदेश सरकारले गतबर्ष प्रदेशका सवै अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने नीति लिएको थियो । सो अनुसार ८ वटा जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट जडानको कार्य सम्पन्न भएको छ । तर, तीनवटा अस्पतालमा अहिलेसम्म अक्सिजन प्लाण्ट जडान हुन नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकानुसार समयमै टेण्डर गर्न नसक्दा ढिला भएको छ । दमौली, मध्यविन्दु र लमजुङ जिल्ला अस्पतालले यस आवभित्र जडान कार्य सम्पन्न गर्ने गरि काम भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले अक्सिजन प्लाण्ट जडानको लागि चालु आवमा १ करोड ३५ लाख रुपैया विनियोजन गरेको डा केसीले बताए ।
सवै जिल्ला अस्पतालको स्तरोन्नती गरिने
कोरोना महामारीसंगै सवै जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने योजना सरकारले गतबर्षै सार्वजानिक गरेको थियो । फागुनदेखी स्तरोन्नतीको कार्य अगाडी बढाएको छ । मनाङ र मुस्ताङमा हाल भइरहेका १५ शैयाका अस्पताललाई २५ शैयामा स्तरोन्नती गर्ने, धौलागिरी अस्पताललाई ५० बाट २ सय शैयाको बनाउने र अन्य अस्पताल ५० शैयाको बनाउने गरि टेण्डरको प्रकृया अगाडी बढाएको डा केसीले बताए । यसको लागि सरकारले प्रतिवेड एक लाखको दरले रकम विनियोजन गरेको मन्त्रालयले बताएको छ । यसरी नै, सरकारले अस्पतालबाट उत्पन्न हुने फोहोरमैलालाई संक्रमणरहित व्यवस्थापन गर्न लागेको छ । डा केसीका अनुसार शवलाई लामोसमयसम्म राख्नको लागि मर्चरी चेम्बरको पनि स्थापना गरिएको छ ।
बाग्लुङमा पिसिआर मेसिन जडानकै प्रकृयामा
कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढेपछि बाग्लुङमा पिसिआर मेसिन राख्न माग गरिएको थियो । चौतर्फि विरोधपछि प्रदेश सरकारले जोखिमकै समयमा बाग्लुङको धौलागिरी अस्पतालमा तत्काल पिसिआर मेसिन जडान गर्ने र कोरोना परीक्षण गर्ने बतायो । तर, हालसम्म मेसिन जडान भने हुन सकेको छैन् । सामाजिक मन्त्रालयकानुसार मेसिन खरिद भइसकेको भएपनि जडानकै प्रकृयामा छ । बाग्लुङ भन्दापछि खरिद गरिएको नवलपुरको मध्यविन्दु अस्पतालमा भने मेसिन जडान गरि पिसिआर परीक्षणको काम भइरहेको मन्त्रालयले बताएको छ । मेसिन नहुदा नवलपुरबाट संकलन गरिएको स्वाब पोखरा ल्याउनुपथ्र्यो ।