अघिल्लो निर्वाचनमा पराजित भएका उम्मेदवारहरु यसपटक पनि पुनः उम्मेदवार बनेका छन् । २०७४ को नजिता आफ्नो पोल्टामा पार्न नसकेका यस्ता उम्मेदवार यसपटक भने जित्ने दाउमा छन् । नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापा पनि यसभन्दा अघिको निर्वाचनमा पराजय भएका थिए । यसपटक भने जित्ने आशाका साथ चुनावी मैदानमा होमिएका छन् ।
उनको प्रमुख प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनी हुन् । अघिल्लापटक यिनै मरासिनीले थापालाई पराजित गरेका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा जुटेका उम्मेदवार यतिबेला मतदातासँग भेटघाटमा व्यस्त छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट पराजित भएका कांग्रेसका अर्जुनप्रसाद जोशी पुनः उम्मेदवार छन् । उनी यसअघि नेकपा एमालेका उम्मेदवार पदम गिरीसँग पराजित भएका थिए । त्यसअघि जोशीले पर्वतबाटै तीन पटक चुनाव जितेका थिए । यसपटक पनि जोशी गिरीसँगै मुख्य प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो निर्वाचनमा गिरीलाई सारथी बनेका माओवादीका भोट यसपटक भने जोशीलाई बन्ने छन् । यसकारण पनि जोशी जित हाँसिल गर्ने दाउमा छन् ।
कांग्रेसबाट टिकट नपाएपछि बाग्लुङको गलकोट नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी मञ्जु शर्मालाई बाग्लुङ क्षेत्र नम्बर २ मा एमालेले उम्मेदवार बनाएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा गलकोट नपाको मेयर पदमा पराजित भएकी थिइन् । उनीसँग मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल हुन् । २०७४ मा बाम गठबन्धनबाट निर्वाचित पौडेल हाल संघिय सरकारमा शिक्षा मन्त्री छन् । यसैगरी, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । पौडेलले ५ पटक संघिय निर्वाचन जितिसकेका छन् । पौडेलसँग एमालेले एकबहादुर रानालाई प्रतिस्पर्धी बनाएको छ । अर्कोतर्फ कांग्रेसवाटै असन्तुष्टि बनेका गोविन्दराज जोशी पनि उम्मेदवार छन् । लामोसमय कांग्रेसमा राजनीति गरेर पटकपटक मन्त्री भएका उनी पार्टीवाट कारबाहीमा परेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
तनहुँ–२ बाट एमालेका केदार सिग्देलसँग पराजित भएका कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी यसपटक जितको खोजीमा छन् । अहिले एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ र भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका कांग्रेसका खुमबहादुर गर्बुजा पनि पराजयको घाउ मेटाउन चाहान्छन् । उनी दोस्रो संविधानसभा र २०७४ सालको संसदीय निर्वाचनमा पराजित भएका थिए । यसपटक उनलाई सत्ता गठबन्धनको साथ छ । यसअघि हराउन मद्दत गरेका माओवादीका भोट यसपटक जिताउन मद्दत गर्नेमा उनी विश्वस्त छन् । उनका प्रतिस्पर्धीका रुपमा एमालेका हरिकृष्ण श्रेष्ठ चुनावी मैदानमा छन् । कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार दामोदर बैरागी पनि यसअघि पराजित व्यक्ति हुन् । बैरागी ०७४ सालको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका–५ को वडा सदस्यमा पराजित भएका थिए । उनी सत्तारुढ गठबन्धनवाट माओवादी केन्द्रका रामजीप्रसाद बरालसँग प्रतिस्पर्धा गर्ने छन् । बराल गण्डकी प्रदेश सरकारका वाहालवाला अर्थ मन्त्री हुन् । मनाङबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा पराजित कांग्रेसका टेकबहादुर गुरुङ पनि यस पटक जितको खोजीमा छन् । सोही क्षेत्रबाट फेरि उम्मेदवार बनेका उनी एमालेका पोल्देन छेपाङ गुरुङसँग २७१ मतको झिनो अन्तरले पराजित भएका थिए । यसपटक पनि पोल्देन र टेकबहादुर नै प्रतिस्पर्धी बन्नेछन् ।
यसैगरी, प्रदेशसभातर्फ गोरखा–१ (२) बाट पराजित कांग्रेसका राजेन्द्र बजगाईँ फेरि उम्मेदवार बनेका छन् । यसपटक पनि उनी पुरानै प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतसँग गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । प्रदेशमा प्रतिस्पर्धा गरेका उनीहरु यसपटक पनि सँगसँगै भएका छन् । प्रदेशसभामा बस्नेतले बज्रगाईँलाई पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा माओवादीको साथ बस्नेतले पाएका थिए भने यसपटक बज्रगाईँले पाएका छन् ।
