अटोमेटिक पेस्तोलसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ सराङकोटका ३९ वर्षिय राजु नेकेट भन्ने नरबहादुर विक रहेका छन् । उनलाई प्रहरीले विहीवार लेकसाइडबाट पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–२४ लेकसाइडको बाँस्कोटस्थित बन्दै गरेको दिपक गिरीको घरमा अटोमिटक पोस्तोल र एक राउण्ड गोली लुकाईछिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामवाट खटिएको विशेष टोलीले बरामद गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बाग्मती प्रदेश ०३३ प १६३३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जानकारी गराए ।
जिल्ला अदालत कास्कीमा विकलाई हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार पक्राउ परेका विक यसभन्दा अघि पनि डाँका चोरी, लुटपाट, गुण्डागर्दी र लागूऔषधसहित विभिन्न १३ वटा मुद्दामा संलग्न छन् । प्रहरीको तथ्यांक अनुसार २०८० कार्तिक २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरी तथा डाँडाको मुुद्दा चलेको थियो ।
यस्तै, २०७९ मंसीर ११ मा लागूऔषधको मुद्दा, २०७७ फागुन २८ मा तनहुँ जिप्रकामा अभद्र व्यवहारमा मुद्दा, २०७७ कार्तिक १६ मा जिप्रका स्याङ्जामा अभद्र व्यवहार, २०७१ माघ ८ मा कास्की प्रहरीमा चोरी मुद्दा, २०७१ माघ ११ मा लागुऔषध सम्बन्धी, २०६७ भदौ ६ मा केही सार्वजानिक अपराध, २०६७ असार ६ मा चोरी मुद्दा, सोही असार २ मा चोरी मुद्दा, २०६६ चैत २६ मा केही सार्वजानिक अपराध, २०६६ साउन १९ मा लागूऔषध सम्बन्धी मुद्दा, २०६५ चैत २६ मा केही सार्वजानिक अपराध र २०६२ चैत ९ मा केही सार्वजानिक अपराध मुद्दा चलेको थियो ।