गाउँ चिनाउने र गाउँमै स्वरोजगार बनाउने । देशकै नमुना होमस्टे पनि यहीं छन् । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका गाउँ गाउँमा होमस्टे सञ्चालनको लहर बढ्दो छ ।
गण्डकीका ११ जिल्लामा २७५ बढी होमस्टेले अतिथि सत्कार टक्रयाईरहेका छन् । तिनै होमस्टेका सञ्चालक स्याङजाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित राम्चेदेवी शिल्लो सामुदायिक होमस्टेमा भेला भए । गण्डकी प्रदेशभर भर्खर मात्र खुलेका होमस्टे सञ्चालक पाहुनाको स्वागत सत्कार, आवास व्यवस्थापन र रैथाने खानाका परिकार कसरी तयार पार्ने लगायत ज्ञान सिक्न गलेमको होमस्टेमा भेला भएका हुन् ।
होमस्टे (घरबास) महासंघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्र्ड पोखरासँगको सहकार्यमा आधरभूत पर्यटन र घरबास तालिमको तारतम्य मिलाएको हो । फेदीखोला गाउँपालिका–४ का वडाध्यक्ष खेमनारायण पौडेलले होमस्टे सञ्चालकलाई यो तालिम कोशेढुंगा सावित हुने बताए । ‘होमस्टे सञ्चालकबीचको अनुभव आदनप्रदानले धेरै कुरा सिकाउनेछ’, उनले भने । आर्थिक समृद्धिका लागि होमस्टेको प्रबद्र्धन र विकास आवश्यक रहेको उनको भनाई छ ।
फेदीखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पुजा गुरुङले होमस्टेले उजाडिएका गाउँमा विकासको लहर ल्याउने बताइन् । ‘बसाइँसराइ झरेकालाई पनि होमस्टेले गाउँ फर्काएको छ’, उनले भनिन् । होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुुरौंले तालिममा व्यक्तित्वसँगै सामाजिक र आर्थिक विकासबारे सिकाउने बताए । ‘दुरदराजमा रहेका नयाँ होमस्टे सञ्चालक विशेष गरेर महिला दिदीबहिनी लक्षित तालिम हो’, उनले भने । सहभागी प्रशिक्षार्थीले आफ्ना जिल्लाका होमस्टे सञ्चालकलाई प्रशिक्षण दिनेछन् । शनिवारदेखी सुरु भएको तालिम आज सम्पनन भएको छ । तालिममा प्रदेशका ३० जना बढी होमस्टे सञ्चालक सहभागी छन् । होमस्टे सञ्चालन गरेर खारिएका सुरज बाँस्तोला, राजकुमार लामिछाने र मनिषा श्रेष्ठले अतिथि सत्कार, वास व्यवस्थापन, पाक शिक्षा र सामाजिक विकासबारे सहजीकरण गरेका थिए ।
