आर्थिक वर्ष २०७९–८० मा अदुवा निर्यात दोब्बर भएको छ । भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा ९०.५४ प्रतिशत अदुवा निर्यात भएको हो । गतवर्ष अदुवा निर्यातबाट नेपालमा १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँ रकम भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष ६४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको मात्रै अदुवा निर्यात भएको तथ्यांक भन्सार विभागको छ ।
सबैभन्दा बढी फ्रेस अदुवा र सुठो भारतमा क्रमश ८८ करोड २९ लाख ६८ हजार रुपैयाँ र ११ करोड ८५ लाख ८९ हजार रुपैयाँको निर्यात भएको छ । अन्य (क्रस्ड वा धुलो) अदुवा सबैभन्दा बढी जर्मनमा १३ करोड ३८ लाख २७ हजार रुपैयाँको निर्यात भएको हो । २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात हुँदा अघिल्लो वर्ष १ करोड १९ लाख ५८ हजार ८९३ किलो निर्यात भएको थियो ।
गत आव फ्रेस अदुवा र सुठो क्रमश ८८ करोड ४३ लाख २५ हजार रुपैयाँ र ११ करोड ९२ लाख १२ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्यांक छ । अन्य (क्रस्ड वा धुलो अदुवा २१ करोड ८६ लाख ९७ हजार को निर्यात भएको विभागले जनाएको छ ।
