अभिनेता पूर्णविक्रम (पल) शाहले सफाई पाएका छन् । नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको हो । अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो ।
शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए । सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए ।
नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । शाह १५ गते आफै तनहुँँ प्रहरीको सम्पर्कमा पुगेका थिए ।
