लगानी बोर्डका अध्यक्ष एंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरूण तेस्राेकाे कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रम प्रचण्डको अध्यक्षतामा मंगलबार बसेकाे बोर्डको ५६ औं बैठकमा उनले उक्त परियाेजना समयमै सक्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत परियोजना सार्वजनिक-निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकुल वातावरण रहेको सन्देश प्रवाहित हुने भएकाले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकणका लागि सम्बन्धित निकायले प्रभावकारी समन्वयसहित चुस्त ढंगले काम गर्न निर्देशन दिएका छन् ।
विकासकर्ता एसजेभीएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले १ खर्ब ४४ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यस परियोजनाको भौतिक प्रगति ६६.३ प्रतिशत र प्रसारणलाइनतर्फ १५.४६ प्रतिशत रहेको छ ।
संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवेशमार्ग छ्याङ्कुटी (दिदिङ्ग ०-२४ किमि) सडकखण्डको समस्या समाधान गर्ने सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय वैठकले गरेकाे छ ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधि तथा ५५ औं बोर्ड बैठकका निर्णयको कार्यान्वयन अवस्था र ५६ औं बोर्ड बैठकका कार्यसूचीका सम्बन्धमा संक्षेपमा प्रस्तुतीकरण गर्नुका साथै परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिंगो संयन्त्रले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखे ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, मुख्यसचिव बैकुण्ठ अर्याल, निजी क्षेत्रका विज्ञ सदस्यहरू भवानी राणा, हरिभक्त शर्मा र राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।