नेपाली राजनितिमा युवा नेतृत्वको चर्चा निर्वाचनको बेला अल्लि बढी चल्छ । देशमा सोचे अनुसार विकासले गति लिन नसक्दा पुराना राजनितिक नेतृत्वलाई बिदाई गर्दै युवाले देश र समाजको बागडोर सम्हाल्नुपर्ने बहस चल्ने गर्दछ । २०७९ को वैशाख ३० मा सरकारले स्थानीय तहको निर्वाचन घोषणा भएपछि फेरी राजनितिमा युवाको नेतृत्व वहस गर्मिएको छ । युवा नेतृत्वको देशलाई किन आवश्यक छ ? ३५ बर्षमा नेकपा एमाले विरुवा गाउँपालिका स्याङजाको अध्यक्ष पदमा निर्वाचित भएका युवा नेता प्रकाश थापासंग प्रतिपत्र अनलाइनले राजनिति र युवा नेतृत्वको सेरोफेरोमा रहेर गरिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
१) ३५ बर्षको कम उमेरमै एमाले विरुवा गाउँपालिकाको नेतृत्वमा पुग्नुभएको छ ? कसरी संभव भयो यो यात्रा ?
उमेर सानै भएपछि मेरो राजनितिक यात्रा लामो छ । २०६८ देखि नै मैले सक्रिय राजनिति थालेको हु । राष्ट्रिय युवा संघ सक्रिय रहेर जिल्लादेखि केन्द्रिय कमिटिको सचिवालय सदस्य भए । यस क्रममा मैले आफ्नो गाउँ ठाउँमा विभिन्न माध्यबाट सामाजिक र राजनीतिक हिसाबले सेवा गरिरहेकै थिए । जनताको घरदैलोमा पुगिरहेकै छु । त्यसैले बिरुवा गाउँपालिकाबासी आम नेकपा एमाले प्रेमी नेता कार्यकर्ता पंक्तिले अव पार्टीको गाउँपालिकामा हजुरले नेतृत्व गर्नुपर्छ भन्ने कुरा आयो । उहाँहरुकै चाहाना अनुसार उमेदवारि दिए र उहाँहरुले करिब २ तिहाई मतले पार्टीको गाउँपालिका अध्यक्षमा निर्वाचित गराउनु भयो । राजनीतिक सँगसँगै सामाजिक कार्यमा सकृय सहभागीता भएपछि कार्यकर्ता र जनताले यसको कदर गर्नुहुदो रहेछ भन्ने मलाई अनुभव भयो ।
२) युवा नेतृत्व आएपछि विरुवा एमालेमा कस्तो परिवर्तन देखियो ?
पार्टीको नेतृत्व गरेपछि मैले पार्टीलाई विधि र पद्धतिमा चलाउनपर्छ । त्यसमाथि एमाले कम्युनिष्टहरुको पार्टी भएकोले यसलाई आर्थिक भौतिक र नैतिक हिसाब व्यवस्थित बनाउनुपर्ने मेरो दायित्व हो । जब मैले पालिकाको पार्टीको नेतृत्व लिए मलाई लाग्छ पार्टी पहिलेभन्दा चलाएमान र व्यवस्थित भएको छ । अखिल नेपाल महिला संघ, नेपाल उत्पिडित जातिय मुक्ति समाज, विरुवा पोखरा सम्पर्क मञ्च, विरुवा काठमाडौ सम्पर्क मञ्च गरी विभिन्न ठाउसंगको सम्पर्क मञ्च गठन भएका छन् । जुन यसअघि गठित थिएनन् । मेरो कार्यकालको ६ महिनाभित्र पार्टीका हांगाहरु विस्तारमा फिजारिएका छन् । म पनि त्यही अनुसार खटिएको छु । वैठक र पार्टी कार्यालयलाई व्यवस्थित गरेको छु । पार्टी कमिटिलाई टोल स्तरमा विस्तार गरेको छु । ६ महिनाभित्र पार्टी र जनबर्गीय संगठनलाई विस्तार तीव्र गतिमा भएका छन जुन पाँच बर्षसम्म हुन सकेको थिएन । पार्टीको क्याडरलाई टोल कमिटिमा पु¥याउन पाउँदा खुसी छु ।
३) देशले सोचे अनुसार विकास गर्न नसक्नुमा राजनितिमा युवा नेतृत्वको अभाव भन्छन नि, यसमा तपाइको भनाई के छ ?
देश विकास हुन नसक्नुमा युवा नेतृत्वमा नहुनु मात्र कारण होइन । नेपाली राजनितिले युवासंग भएको नयाँ सोच, विचार र जोशलाई उचित प्रयोग गर्न नसकेको हो जस्तो लाग्छ । देश विकास हुन काम गर्ने पद्धति, कामको गति, काममा सुचना प्रविधिको प्रयोग जस्ता कुराहरुले फरक पार्छ । यी कुराको प्रयोग पाको उमेरका मानिसले भन्दा युवा नेतृत्वले नै प्रभावकारी रुपमा गर्न सक्छन् । भनाइको तात्पार्य युवा नेतृत्वमा हुदा गति, पद्धति र प्रविधिको प्रयोग निश्चित रुपमा बढ्छ । यसले विकासको गतिलाई बढाउने नै भयो । फिनल्याण्ड र न्यूजील्याण्ड जस्ता देशले नेतृत्वमा ४० बर्ष भन्दा कमका छन, दुवै देश विश्वको सवै हिसावबाट विकसित देशमा गनिन्छन् । सर्वसुभलव सेवा, भ्रष्टाचार निवारण र सुशासनले यी देशहरु विश्वकै नमूना देशमा पर्छन ।
४) युवाले राजनितिमा चासो नराखकेका कारणले पनि यस्तो भएको हो ?
युवालाई त्यो वाताबरण तयार नहुनु नै दुर्भाग्य हो । युवा आउन त चाहन्छन् तर यहाँको सिस्टम र मनोपोलिले गर्दा उनीहरु यसमा छिर्न सक्दैनन् या, छिर्न दिइदैन । युवाशक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । एक निश्चित उमेर समुहको सक्रिय, उर्जावान र गतिशिल युवा समूह मानव विकास संंसाधनको महत्वपूर्ण साधन हो । हरेक राजनीतिक परिवर्तनलाई संस्थागत गरी सबल राष्ट्र निर्माण गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुन्छ ।
युवा परिचालन, सहभागिता र नेतृत्व विकास विना कुनै पनि देशले विकासमा आसा गरे अनुरुप लक्ष्य हासिँल गर्न सक्दैन । युवालाई लक्षित गरेर हरेक पार्टीले अभियान संचालन गर्न सके राजनीतिक रुपमा योग्य र दक्ष युवा तयार गर्न सकिन्छ । युवा राजनितिमा आए भने भोलि हाम्रो भविष्य के होला भन्ने मानसिकताका अग्रज नेता छन् । यसले उनीहरुको भलो त होला तर, देशको लागि यो दुर्भाग्य हो । समृद्ध नेपाल सुखी नेपाली बनाउन पुराना पुस्ता नेता बिदा हुने र युवा नेतृत्वलाई राजनीतिमा जोडन अति आवश्यक छ ।
५) गाउँपालिकामा युवा नेतृत्व आउने संभावना कत्तिको छ ?
यो त मैलें भन्ने भन्दा पनि जनताले, आम स्थानीयले माग गर्ने कुरा हो । महसुस गर्ने र पार्टीको हाइ कमाण्डले मुल्याङन गर्ने कुरा हो । आज गाउँपालिकाले गरेको विकास र सेवाको आधारमा माग गर्ने कुरा भयो । पार्टी अध्यक्षको जिम्मेवारी सवैलाई मिलाएर लैजाने हो । हिजोको काम मुल्याङकन, क्षमताको आधारमा सवैले मुल्याङन गर्नुहुनेछ भन्ने मैलें विश्वास लिएको छु ।
६) स्थानीय निर्वाचन पनि नजिकिदै छ । पार्टीले टिकट दिए निर्वाचनमा होमिने तयारी कस्तो छ ?
सबै नीतिहरुको नीति नै राजनीति हो । पुरानो राजनितीक पुस्ताको सम्मानकै लागि उहाँहरुलाई जनप्रतिनिधिको रुपमा पार्टीले अगाडि बढाउनु हुदैन जस्तो लाग्छ । जनप्रतिनिधिहरु शिक्षित, योग्य, दक्ष र सक्षम नहुँदा बिचौलिया सल्बलाउने अवसर पाएका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचन नभइ पैसाको बलमा जित्ने प्रवृत्तिको विकास हुँदै गएको छ । निर्वाचित जनप्रतिनिधि सत्तासिन भैसकेपछि निर्वाचनमा गरेको खर्च असुल गर्नुले पनि भ्रष्टाचार बढेको छ । गाउँगाउँमा सोचे जस्तो विकास हुन सकेको छैन ।
