अवैध अमेरिकन डलरको कारोबार गर्ने गुरुङविरुद्ध अदालतमा मुद्दा दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा पक्राउ परेका छिरिङढुन्डु गुरुङलाई राजस्व अनुसन्धान विभागले शुक्रबार (पुष–९) जिल्ला अदालत कास्कीमा विदेशी मुद्रा (अमेरिकी डलर) अवैध ओसारपसार सम्बन्धि शिर्षकमा मुद्दा दर्ता गराएको छ ।
विभागका शाखा अधिकृत गणेश खनालले गुरुङविरुद्ध मुद्दा दर्ता गराएका हुन् । खनालको नेतृत्वमा ७ जनाको समूहले गुरुङलाई लिएर पोखरा आएको थियो । ‘जुन ठाउँबाट पक्रिएको हो त्यही जिल्लामा मुद्दा दर्ता गराउनुपर्छ’ अधिकृत खनालले भने, ‘गुरुङलाई पोखराबाटै पक्रिएकाले कास्की जिल्ला अदालतबाट मुद्दा चलाएका छौ ।’ उनले गुरुङलाई विभागकै हिरासतमा राखिएको बताए ।
पोखरा महानगरपालिका–३२ मजुवास्थित पृथ्वी राजमार्गमा काठमाडौबाट पोखरा आउदै गरेको बा २ ख ३९५० नम्बरको माइक्रो बस (हाइस) मा सवार गुरुङलाई चेकजाँचको क्रममा गत मंसीर १० गते साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले अमेरिकन डलर १ लाख ९४ हजार २ सय रुपैया“ बरामद गरेको थियो । सो रकमको ११९.५ का दरले २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ पर्न आउँछ । प्रहरीले उनको साथबाट २ वटा मोवाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र पनि बरामद गरेको थियो ।
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ घर भई हाल पोखरा–९ शिवालयचोक बस्दै आएका ४२ बर्षिय गुरुङ अवैध विदेशी डलरको ओसारपसारको काम गर्दै आएका थिए । प्रहरीको अनुसन्धान अनुसार गुरुङ जहाजबाट काठमाडौं जाने र माइक्रोमा करोडौ अवैध डलर लिएर पोखरा आउने गर्दथे । प्रहरीले विदेशी डलरको अवैध कारोवार भएको सुराकीको आधारमा सवारी साधनको चेकजा“च गरेको थियो । दुई पटकसम्म प्रहरीको फन्दामा नपरेका उनी तेस्रोपटक प्रहरीको हिरासतमा पुगे । अवैध रकमको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले मंसीर १२ मा राजस्व अनुसन्धान विभागमा अवैध रकमसहित गुरुङलाई बुझाएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले बताए ।
माइक्रोमा उनी बसेको सिटमुनि गुरुङको झोलामा एकलाख ९४ हजार २ सय अमेरिकी डलर प्याकिङ गरेर राखिएको थियो । कास्की प्रहरीले यो घटना संगठित अपराध रहेको र थप कुरा खुलाउन नसकिने भन्दै पक्राउ परेको भोलीपल्ट (मंसीर ११) गुरुङलाई सार्वजनिक गरेको थियो । अवैध रकमले अवैध कारोबार गर्न सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा गुरुङले यसअघि पनि यसरी नै ठूलो परिमाणमा डलर लिएर पोखरा आउने गरेको स्वीकार गरेका छन् । गुरुङले विभागमा दिएको बयानमा आफूले ५० हजार रुपैया“ पाउने आशले अर्कैको रकम ल्याइदिएको बताएका छन् । आफूले २५ हजार काठमाडौंमा पाएको र बाँकी २५ हजार पोखरा पुगेपछि पाउने भनी रकम लिएर पोखरा आएको बताएका छन् । काठमाडौको महावौद्धमा रहेको अकुपेमा रेष्टुरेण्टका मालिक ढोल्पुले उक्त रकम रेष्टुरेन्ट अगाडी दिएको बताएको विभागले जनाएको छ ।
यसअघि पनि उनले ढोल्पुकै रकम पोखरा ल्याएको र उक्त रकम लिन तिव्वतियन व्यक्ति आएको उनले बताएका छन् । प्रहरीले पक्राउ गरेपछि मात्र डलर कति छ भन्ने थाहा पाएको बताएका गुरुङले यसअघि पोखरा ल्याएको डलर कति थियो भन्ने आफूलाई जानकारी नभएको बताए । गुरुङको साथबाट अवैध डलर बरामद गरेपछि प्रहरीले नेपाल राष्ट्र बैंकका प्राविधिक लगेर बरामद डलर सक्कली रहेको पुष्टि गरेको थियो । राष्ट्र बैंकका कर्मचारीले मेसिनमा राखेर बरामद डलरको परीक्षण गरेका थिए । एसपी थापाले डलरको तस्करीसँग सुन जोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । प्रहरीले यसमा गिरोहीको ठूलो संख्यामा संलग्न हुन सक्ने जनाएको छ । विभागका अधिकृत खनालले खुला सीमानाका कारण भारतबाट अवैध सुन तस्करी हुने गरेको र त्यसको ’कनेक्सन’ अवैध विदेशी मुद्रास“ग जोडिएको हुन सक्ने तथा पोखरा ‘ट्रान्जिट हब’ बन्न सक्ने बताए । ‘यसमा ठूलो गिरोह संलग्न छ, हामी अनुसन्धान गर्दै छौ’ उनले भने ।
विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१) विदेशी विनियम कारोबार गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले वैंकबाट इजाजतपत्र लिनुपर्ने कानुनी प्रावधान छ । सोही ऐनको दफा ४(१) मा कसैले पनि वैंकको स्विकृति नलिई इजाजतपत्र प्राप्त व्यक्तिसँग बाहेक अरु व्यक्तिसँग विदेशी विनियम कारोबार गर्न नहुने व्यवस्था कानुनले गरेको छ । गुरुङलाई विदेशी मुद्रा विनिमय नियमित गर्ने ऐन–२०१९ र विदेशी मुद्रा अपचलनसम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको विभागले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *